पाडामा लोभिएन बाघ, प्राविधिक टोली दौडेको दौडेयै

नेपालगञ्ज – पुसको २२ गते लीला विष्ट र २४ गते चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भयो। घाँस–दाउरा गर्न सामुदायिक वनमा पुग्दा दुवै महिलालाई बाघले आक्रमण गरेको थियो।
राप्तीसोनारी गाउँपालिका वडा नं ४ की विष्ट र वडा नं ६ की थारुको बाघको आक्रमणबाट मृत्यु भएपछि निकुञ्ज, जंगल आसपासमा त्रास बढ्यो। पछिल्लो तीन महिनामा यी दुईसहित चार जनाको मृत्यु भएपछि हिंस्रक बाघलाई नियन्त्रण गर्न चर्को दबाब पर्यो।
हिंस्रक बाघ नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति कोषबाट प्राविधिक टोली नै आयो। चितवनबाट आएका डा अमीर सडौला र प्राविधिक तीर्थ लामा हप्ता–दिनदेखि बाँकेमा खटिएका छन्। प्राविधिक टोलीले बाँके आउनेबित्तिकै विष्ट र थारुलाई आक्रमण गरेको ठाउँको अवलोकन गरेको थियो। दुवै ठाउँमा हेर्दा बाघको ताजा पाइला थारुलाई आक्रमण गरेको ठाउँमा देखियो।
त्यसपछि उनीहरुले बाघलाई लोभ्याउन पाइला देखिएको ठाउँमा दुई वटा पाडा बाँधे। करिब पाँच सय मिटरको दुरीमा दुई वटा पाडालाई बाँधेर राखेको छैठौं दिन भयो। बाघ पाडा खान आएको छैन। पाडा खान आएमा बाघलाई बेहोस बनाई नियन्त्रणमा लिने प्राविधिक टोलीको योजना रहेको छ।
बाघलाई पाडा राखेर लोभ्याइएको छ। बाघ आएको छैन। प्राविधिक टोली दिनको एकपटक पाडा बाँधेको ठाउँमा पुग्दै आएको छ। प्राविधिक टोली दुई वटा हात्तीको सहयोगमा त्यहाँ परिचालन हुँदै आएको छ। बाघलाई लोभ्याउन पाडा बाँधेका प्राविधिकहरु बिहान पाडा छ कि छैन भनेर हेर्न पुग्दै आएका हुन्।
प्राविधिक लामाले पाडा खान आएमा बाघलाई नियन्त्रणमा लिने बताए। लामा भन्छन्, ‘बाघ आयो भने पाडालाई आक्रमण गर्छ। घिसारेर नजिकको झाडीमा लैजान्छ। हामीले त्यही बेलामा बन्दुकले हानेर बेहोस बनाउँछौं र नियन्त्रणमा लिन्छौं।’
बाँके राष्ट्रिय निकुञ्ज र वन आसपासमा बाघको त्रास बढेको छ। बाँकेमा घरघरमै आएर बाघले मान्छे र पशुलाई आक्रमण गरेको छैन। निकुञ्ज आसपासको सामुदायिक वनमा घाँस–दाउरा गर्न गएका मानिसलाई आक्रमण गरेको छ। लगातार आक्रमण गरिरहेपछि हिंस्रक बाघलाई नियन्त्रणमा लिन ठूलो दबाब परेको छ।
डा सडौलाले हिंस्रक बाघलाई नियन्त्रणमा लिएरै छाड्ने बताए। ‘हामी दिनरात लागिपरेका छौं। त्यो हिंस्रक बाघलाई नियन्त्रणमा लिएरै छाड्छौं’, डा सडौलाले भने, ‘ताजा पाइला देखिएको ठाउँमा समेत फेरि बाघ आएको छैन। आउँछ भन्ने हामीलाई विश्वास छ।’
बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन्। बाघ बढेको सम्बद्धहरु बताउँछन्। अहिले बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना भइरहेको छ। बाघले पटक–पटक आक्रमण गरिरहेपछि निकुञ्जमा पर्ने सडक र जंगलमा साइकल, मोटरसाइकलमा सवार गर्न छोडिएको छ। जंगल छेउछाउका बासिन्दा रातमा घरबाहिर निस्कन डराइरहेका छन्।