टोंगामा समुद्रमुनि ज्वालामुखी विस्फोट, जापान र अमेरिकामा सुनामीको चेतावनी

प्रशान्त महासागरको दक्षिण क्षेत्रमा पानीमुनि भएको ज्वालामुखी बिस्फोटका कारण सुनामीको चेतावनी दिइएको छ। प्रशान्त महासागरमा रहेको टापु राष्ट्र टोंगामा समुद्रमुनिको ज्वालामुखी गतिविधिका कारण सुनामीको छाल आउँदा जनजीवन प्रभावित भएको छ।
टोंगाका केही बजारहरु समुद्रबाट आएका सुनामी छालको डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। टोंगाको प्रमुख आइल्याण्ड (टापु) ज्वालामुखीबाट निस्किएको खरानीले ढाकिएको हुनसक्ने चेतावनी वैज्ञानिकले दिएका छन्।
सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोहरुमा ज्वालामुखी बिस्फोटपछि स्थानीय बासिन्दाले भागदौड गरेको देखिन्छ। एक मिटरभन्दा अग्लो पानीको छाल बस्तीमा पसेको देखिएको छ। आकाशमा ज्वालामुखीको धुवाँ पुगेकाले अँध्यारो भएको थियो।
प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा भएको ज्वालामुखी बिस्फोटपछि अमेरिका तथा जापानले प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाई आउन सक्ने सुनामी छालबाट जोगिनका लागि सुरक्षित स्थानमा जान भनेका छन्।
जापानले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिएको थियो। जापानको दक्षिणी तटीय क्षेत्रमा १.२ मिटर अग्लो पानीको छाल ठोक्किएको छ।
अमेरिकाले तटीय क्षेत्रहरुमा ठूलो छाल आउन सक्ने र बाढीले जनजीवन प्रभावित हुन सक्ने भन्दै सचेत गराएको छ।
समुद्रमुनिबाट बिस्फोट भएको ज्वालामुखी भीषण रहे पनि सुनामी नै आउन सक्ने सम्भावना भने नदेखिएको वैज्ञानिकले बताएका छन्। तर टोंगाको अवस्था निकै गम्भीर बनेको उल्लेख छ।
Tonga’s Hunga Tonga volcano just had one of the most violent volcano eruptions ever captured on satellite. pic.twitter.com/M2D2j52gNn
— US StormWatch (@US_Stormwatch) January 15, 2022