सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

फाइल तस्बिर

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ।

आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको दाबेदार मनाङ मस्र्याङ्दी क्लब नवप्रवेशी सातदोबाटो युथसँग १–० ले पराजित भएपछि मछिन्द्रलाई शीर्ष स्थानमा रहँदै अंक बढाउने अवसर रहेको हो।

अग्रंपक्तिमा बलियो देखिएको मछिन्द्रसँग विमल घर्तीमगर, अभिषेक रिजाल, मनिष डाँगी, कप्तान सुजल श्रेष्ठ, विदेशी खेलाडी नुर्लान जस्ता उत्कृष्ट खेलाडी रहेका छन्।

पहिलो खेलमा न्युरोड टीम एनआरटीविरुद्ध ५४ औं मिनेटमा फ्रिकिकमा गोल व्यहोरेको मछिन्द्रले त्यसयता गोल खानुपरेको छैन। गोलरक्षक विशाल श्रेष्ठसमेत उच्च लयमा छन्।

यता बीबीसीसमेत अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ। युवा खेलाडीले भरिएको बीबीसी मछिन्द्रलाई रोक्दै अंकतालिका सुधार गर्न चाहन्छ। पछिल्लो खेलमा बीबीसीले नेपाल पुलिस क्लबलाई रोकेको थियो।

जारी लिगमा ८ खेल खेलेको मछिन्द्र अपराजित छ। २० अंकसहित मछिन्द्र शीर्षस्थानमा छ । बीबीसी समान खेलबाट ६ अंक जोड्दै १२ औं स्थानमा छ।

आजै दोस्रो खेलमा विभागीय नेपाल पुलिस क्लबले च्यासल युथ क्लबको सामना गर्दैछ। खेल दशरथ रंगशालामा पौने ५ बजे सुरु हुनेछ। दुबै टोली रेलिगेशनको संघारमा छन्। जारी लिगमा पुलिस ८ खेलबाट ७ अंकसहित ११ औं स्थानमा छ। च्यासल भने समान खेलबाट ५ अंकसहित १३ औं स्थानमा छ।

१४ क्लब सहभागी लिगमा पुछारका २ टोली बी डिभिजन लिगमा घटुवा हुनेछन्।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्