विराट राजदरबार उत्खनन् : २ हजार ४ सय वर्ष पुरानो मन्दिरको संरचना खोतल्दै पुरातत्व विभाग

मोरङ – विराटनगरस्थित विराट राजाको दरबार भनिएको स्थानमा पुरातत्व विभागले उत्खनन् कार्यलाई तीव्रता दिएको छ।

विभागका ५ सदस्य पुस २६ गतेबाट महानगर १८ स्थित भेडियारीमा रहेको प्राचीन स्थानको उत्खननमा जुटेको हो। पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा स्थानीयले संरक्षण गरिराखेको स्थानमा उत्खनन गरिरहेको छ। ज्ञवालीले सो क्षेत्रमा विराट राजाको दरबार नभएको तर प्राचीन समयको संरचना भएको प्रस्टाए।

उनका अनुसार हालसम्म टोलीले गरेको उत्खननमा इँटा, झिंगटीमात्र फेला परेको छ। त्यसबाहेक नयाँ कुरा भने नभेटिएको उनले बताए।

टोलीले सो क्षेत्रमा विराट राजाको दरबार भएकोबारे थप अनुसन्धान गर्ने जनाएको छ। भेडियारी पुरातात्विकस्थल ठूलो क्षेत्रफलमा फैलिएको छ। ज्ञवालीले हाल उत्खनन भइरहेको स्थलबाट दक्षिण भारततर्फ थप संरचना भएको हुनसक्ने आंकलन गरे। हाल उत्खनन् गरिएको स्थल करिब २ हजार ४ सय वर्ष पुरानो आयात आकारको मन्दिरको संरचना भएको हुनसक्ने टोलीको अनुमान छ। ज्ञवाली भन्छन्, ‘टोलीले उत्खनन गरेको आयात आकारको संरचनाको जग भेटिसकेको छ। त्योभन्दा तल जमिनभित्र केही भेटिने सम्भावना कम छ। अहिले टोलीले आयातकार देखिएको मन्दिरको लम्बाइ, उचाइको विषयमा अध्ययन गर्नेछ।’

पुरातत्व विभागले यसअघि २०२७ सालमा समेत यस क्षेत्रको उत्खनन गरेको थियो। जतिबेला टोलीले पञ्चमार्क सिक्का फेला पारेको थियो। ज्ञवाली भन्छन्, ‘यसअघि भएको उत्खनन्मा सिक्का भेटिएको थियो। जुन ईशापूर्व पाँचौंदेखि दशौंसम्म भारत वर्षमा चलेका थिए। त्यसैले पनि सो क्षेत्रमा प्राचीन सभ्यताको थलोको रुपमा रहेको हुनसक्छ। तर धेरै ठूलो क्षेत्रफल ओगटेको हुँदा दक्षिणतर्फ भारतमा यसको संरचना हुनसक्छ।’

टोलीले यसै सिजन पञ्चमार्क सिक्का भेटिएको कुरालाई पुष्टि गर्नका लागि थप चार क्षेत्रबाट विभिन्न नमुना संकलन गरी वैज्ञानिक मिति खोज्नेछ।
अर्कोतर्फ विराट राजा प्राचीन दरबार खोज तथा संरक्षण समितिले उत्खननका क्रममा भेटिएका केही महत्वपूर्ण सामग्री सुरक्षित राखेको छ। चारैतर्फ पर्खालले घेरेर सुरक्षित राखिएको उत्खनन क्षेत्र करिब ५ कठ्ठासम्म फैलिएको छ। समितिका अध्यक्ष कमलकिशोर यादवका अनुसार प्राचीन सभ्यता र दरबारबारे बुझ्नका लागि विभिन्न १४ वटा राष्ट्रका शोधकर्तासमेत आइसकेका छन्। गएको वर्ष चैत्रमा बेलायतबाट समेत विज्ञ टोलीले यस क्षेत्रको अध्ययन गरेको उनले जानकारी दिए।

उत्खनन टोलीले करिब १८ दिनको समय यस क्षेत्रमा खर्चिनेछ। हाल संरचना देखिएको क्षेत्रलाई चार भागमा विभाजन गरी सुरुमा २ भागको काम भइरहेको टोलीले जनाएको छ।

त्यसैगरी विराटनगर महानगरपालिकाले सो क्षेत्रको प्रवर्द्धनका लागि भेडियारीको करिब १२८ विगाह क्षेत्रलाई सरंक्षणसहित पुरानो संरचनाको परिकल्पना दिने गुरुयोजना अघि सारेको छ। जसमा किचकवध, रानी पोखरी, भान्साघर, मन्दिर क्षेत्रलगायत विभिन्न ७ स्थानलाई जोड्ने आन्तरिक सर्किट निर्माण गर्ने महानगरले लक्ष्य राखेको छ।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्