पलाती र मकर मेला : इन्द्रले पाएको मोक्ष पनौतीले कहिले पाउने?

लेखको शीर्षक पलाती, नेपाली भाषामा पला=पाइला र ती=राख, पूर्ण अनुवाद ‘पाइला राख’। मल्ल कालमा काठमाडौँ तथा रोशी उपत्यकाका मानिसहरुमा पुण्यभूमिमा पाइला टेके मोक्ष प्राप्त हुने विश्वासअनुसार यहाँ पाइला राख्न आग्रह गर्न हेतु तात्कालिन मल्ल राजाले स्थानको नाम नै ‘पलाती’ राखेको किम्बदन्ती छ। ४० भन्दा बढी हिन्दू तथा बौद्ध मन्दिरहरु र २८ भन्दा बढी ठूला चाड पर्वले सुसज्जित एक महत्वपूर्ण तीर्थस्थल पनौतीलाई परापूर्वकालमा पञ्चवा, पाञ्चाल, पनवती, पनाती, पुन्तुरी, पलाती आदि नामले पुकरिन्थ्यो। आध्यात्मिक तथा धार्मिक दृष्टिमा पनौतीको त्रिवेणी घाटलाई उत्तर प्रयागको रुपमा प्रत्येक बाह्रवर्षमा माघ एक महिना मकर मेला मनाउँदछन्।

पनौती एक पौराणिक स्थान हो भत्रे कुरा चार युगका घटनाक्रमहरुले देखाउँछ। पनौतीको इतिहास लाई युगमा विभाजन गरी हेर्दा पलाती र मकर मेलाका केही घटनाक्रमहरु यसप्रकार छन्।

सत्य युग – समुन्द्र मन्थनमा कालकुट विषबाट छटपटिएर कैलाश फिर्ती सवार देवादी देव महादेवसँग फर्किएका मन्दराचल पर्वतका नेती बासुकी नाग कुञ्ज पर्वत (फूलचोकी) बाट भगवती माईको आग्रहमा पार्वतीको सहायताले पनौती समृद्धिको लागि बहेको लीलावती (लक्ष्मी) र स्वर्गका अप्सराहरुका उपवासबाट प्रशत्र हुनुभई मनमाया पर्वत (तपोवन) अर्थात रत्नागिरी पर्वत हालको नगरकोटबाट बहेर आएका पुण्यमाताको संगममा राज हुनुभयो। दैवलाई पनि शत्रु लाग्छ भनेझैं बासुकी नागलाई पनि गरुडले आक्रमण गर्‍यो। बासुकी नाग कहिले पुण्यमाता खोला माथिल्लो भागतर्फ भाग्ने तथा कहिले रोशी (लीलावती) खोला माथितिर दौदिन थाल्यो। नाग पानीभित्र दौडन थालेसँगै खोलाको ढुंगा पनि नागसँगै फर्कन थाल्यो। गरुडलाई नाग कता भागेको छ भत्रे पत्ता लगाउन गाह्रो भएन। यो कुरा थाहा पाएर बासुकी नाग आफ्नो बासस्थानबाट रोशी खोलैखोला माथि लाग्यो। खोलाका ढुंगाहरु माथितिर (खोला) आएतर्फ फर्किए। गरुडले नदेखेको मौका छोपी हालको काथं गणेश नजिक बासुकीले मनुष्यको रुप धारण गरी जमिनमा हिँड्दै आफ्नो बासस्थान दोभानमा नागरुप धारण गरी पसे। उनी फेरि पुण्यमाता खोला माथितिर बहन थाले, खोलाका ढुंगाहरु माथितिर (खोला) आएतर्फै फर्किए। गरुडले नदेखेको मौका छोपी सतिवन काटेपछि हालको ठाडो बाटो नजिक बासुकीले मनुष्यको रुप धारण गरी जमिनमा हिँड्दै आफ्नो बासस्थान दोभानमा नागरुप धारण गरी पसे। खोलाको ढुंगा उल्टो फर्किएपछि गरुड बासुकी नाग बसेको स्थान पत्ता लगाउन नसकेपछि थाकेर फर्किए भने नाग सुरक्षित साथ उक्त स्थानमा बसे।

त्रेतायुग – ज्ञान प्राप्तिको लागि लीलावती र पुण्यमाताको दोभानमा तपस्या गरिबसेका गौतम ऋषि पत्नी अहिल्याको रुपमा लोभिएका स्वर्गका राजा इन्द्रले छल गरी व्यभिचार गरे। त्यो दृश्य देखेका ऋषिको श्रापले अहिल्या रातो ढुंगामा परिणत भए, जुन अहिले इन्द्रेश्वर मन्दिरको उत्तर–पूर्वमा रहेको छ। ऋषिको श्रापबाट शरीरभरि योनी बनेर कुरुप भएका राजा इन्द्र लाज र पश्चातापले छटपटाउन थाले। यत्तिकैमा स्वर्गबाट आकाशवाणीले पापमोचनको लागि लीलावती र पुण्यावती दोभान छेउ निगालो गाडेर टुसा नआएसम्म महादेवको आराधना गर्न सुझाए। राजा इन्द्र पापमोचन गर्न नदीको दोभानमा तपस्या गरी बसे। धेरै वर्षसम्म पनि आफ्नो पति नफर्किएपछि खोजीमा पनौती पुगेका रानी साँची (ईन्द्रायणी) ले राजाको दुर्दशा देखिन्। पतिको याचना र आग्रहलाई स्वीकार्दै रानी साँची पनि राजाको पापमोचनको लागि देवादीदेव महादेवको कठोर तपस्यामा समाहित भइन्। सूर्यनारायण कुम्भबाट मकर राशीमा प्रवेश गरेको मकर संक्रान्तिको दिन साँचीको तपस्याबाट खुसी भएका पार्वतीले महादेवसँग उक्त पापमोचनको लागि कृपा गर्न अनुरोध गर्दा महादेवले रुद्ररुप धारणा गरी तेस्रो आँखा खोली सुमेरु पर्वत (गोरखनाथ/दलिनचोक डाँडा) को गर्भबाट दुग्धजल प्रभाव गरिदिए। भगवान रुद्रको तेस्रो आँखाको तेजबाट उत्पत्र भएको उक्त बहावलाई रुद्रावती नामले पुकारियो। लीलावती र पुण्यावतीको संंगममा रुद्रावतीको सेतो बहाव मिसिएर त्रिवेणी बन्यो र संगम सेताम्मे बन्यो। सुमेरु पर्वतको गर्भबाट आएको सेतो जलधारा कुञ्ज पर्वतबाट आएको रोशी (लीलावती–लक्ष्मी) र रत्नागिरी (तपोवन) बाट आएको पुण्यावती (पार्वती) नदीको संगममा मिलन भएपछि राजा ईन्द्रमा अलौकिकता प्राप्त भयो। साथै गाडिएको निगालोमा तुसा पलायो।

आकाशवाणी भएबमोजिम राजा ईन्द्रले उक्त त्रिवेणीमा डुबुल्की मारी पापमोचन गरेर रानी साँचीसहित स्वर्गमा फिर्ता भए। सुमेरु पर्वतबाट जल (दूध) प्रवाह निरन्तर रह्याे। राजा ईन्द्रको पापमोचनको खबरले वरपरका मानिसहरु आ–आफ्नो पाप तथा रोगहरु पखाल्न त्रिवेणीमा आएर नुहाए। यो खबर टाढा टाढासम्म फैलियो, धैरै मानिसहरु आउन थाले। सुमेरु पर्वतबाट माघ महिनाभर सेतो जलधारा आएर मसान्तमा बन्द भयो र केही जलको मात्रामात्र प्रभाव निरन्तरता रह्यो। रुद्रावतीको सेतो जलधाराको अन्त्य भएपछि त्रिवेणीले प्राप्त गरेको पापमोचन र रोग निदानको शक्तिमा ह्रास भयो। फेरि बाह्र वर्षपछि सोही तिथिमा सूर्यनारायण कुम्भबाट मकर राशीमा प्रवेश गरेको, मकर संक्रान्तिको दिन सुमेरु पर्वतबाट दूध प्रवाह भयो र त्रिवेणीको अलौकिक शक्ति महिनाभर कायम रह्यो। त्यसबेला पनि मानिसहरुले त्रिवेणीमा डुबुल्की मारेर स्नान गरी आफ्ना शरीरका रोगहरु र शरीरजन्य कर्मबाट सिर्जित पापमोचन गरे।

प्रत्येक १२ वर्षमा रुद्रावतीबाट दूध प्रवाह केही पटकमात्र रह्यो र मानिसहरुले यसको फाइदा उठाए। पछि आएर सोही तिथिमा रुद्रावतीको जलधाराको मात्रा (आयतन) मा अरु बेलाभन्दा वृद्धि भएको देखिन्छ र मानिसहरु यस जुनीमा भएका पापकर्मबाट मोक्ष प्राप्त हुने विश्वासमा मकर मेलामा त्रिवेणीमा स्नान गर्ने संस्कृति स्थापना भएको छ। मल्लकालमा रुद्रावती संरक्षणार्थ विनाजगमा प्यागोडा शैलीको तीन तल्ले ब्रम्हायणीको मन्दिर बनाई जलमार्गको संरक्षण गरिएको छ। आराध्य देवी ब्रम्हायणी माताको शीलासँगैको दुईवटा खाल्टोमा रुद्रवतीको प्रवाहलाई कहिलेकाही देख्न सकिन्छ। बाह्रवर्षे मकर मासमा उक्त जल प्रवाह बढ्ने जनविश्वास रहिआएको छ।

त्रेता युगमा पवित्र भूमि (पनौती) मा एक महामानव राजकुमारको रुपमा जन्म भएका महासत्वले हिरण्यगिरी गन्धमान पर्वतमा हिंस्रक जनावर बघिनी र उनका पाँच वटा डमरुहरुलाई आफ्नै शरीर उत्सर्ग गरी बोधिसत्व प्राप्त गरी नमोबुद्धको नामले प्रसिद्धि पाए।

द्वापर युग – नागराज बासुकीले राज गरेको; गौतम ऋषिले तपस्या गरेको; स्वर्गका राजा इन्द्रले लीलावती, पुण्यावती र रुद्रावती नदीको संगम त्रिवेणीमा स्नान गरी मोक्ष प्राप्त गरेको पवित्र तीर्थस्थल उत्तम धाममा हरेक दिन स्नान गर्न द्वापर युगमा राजा विराट आफ्नो निवास हालको खोपासी तल्लो बजारबाट ४० घोडेबग्गीमा सवार गर्ने किम्बदन्ती रहेको छ।

कलियुग – युगको पूर्वाद्ध लिच्छवी कालमा राजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त र ज्यापुश्री ललितसँग कामारु कामाक्ष गएका बासुकी नाग, करुणामय मच्छिन्द्रनाथ ल्याएपछि पाटनका ज्यापुसँगै गएर शंखमूल घाटमा बस्न गएका र पनौतीको ज्याःपुन्हि (जात्रा) को चार दिन पहिले हुरी–पानीसँग आउने र जात्रा सकेपछि त्यसरी नै फर्कने जनविश्वास अहिलेसम्म नै कायम छ।

१२५५ जुन ७ तारिखको दिन काठमाडौँ केन्द्र बनाई ७.८ रेक्टरको भूकम्पले काठमाडौँ तथा रोशी उपत्यकामा ठूलो क्षति पुग्यो। तात्कालिन नेपालका राजा अभयदेव मल्लले काठमाडौँ तथा रोशी उपत्यकाका भूकम्प पीडितहरुको उद्धार गर्न रोशी उपत्यकामा साँगा, नाला, बनेपा, धुलिखेल, चौकोट, खड्पु र पनौतीको बस्तीलाई विस्तार गरे। राजा अभयदेवले विस्तार गरेको पनौतीमा १३औं शताब्दीमा कर्णाटक वंशीय राजा हरिसिंहदेवसँग आएका जयराम बरदान परिवारले इन्द्रेश्वरको मन्दिर, मन्दिरको टुँडालमा काष्ठकलाबाट चारयुग (सत्य, त्रेता, द्वापर र कली) झल्कने कलाकृतिको निर्माण गरी स्वर्णीम युगको इतिहास रचेका थिए।

सोह्रौं शताब्दीतिर काठमाडौँ उपत्यका, रोशी उपत्यका र यस आसपासका बस्तीहरुमा तन्त्र–मन्त्रको व्यापक प्रचलनमा आयो। तत्कालीन शासकहरुले कृषि व्यवसायको अतिरिक्त देव, देवीहरुको मूर्ति, मन्दिर, धारा, पाटी, पौवा, डबली, बाटो, खनिज पदार्थको उत्खनन् तथा प्रशोधन जस्ता सार्वजकि सरोकार र सेवा क्षेत्रको विकास भएको पाइन्छ। यसै क्रममा इन्द्रेश्वर मन्दिर अगाडि पछाडि सात कलात्मक नारायणहरु १) सत्यनारायण, २) लक्ष्मीनारायण, ३) गौरीनारायण, ४) शेषनारायण, ५) सूर्यनारायण, ६) श्रीकृष्णनारायण, ७) तोलानारायणको मूर्तिहरु बने। इन्द्रेश्वर महादेवको पश्चिम र तोलानारायणको अगाडि ऋतुहरुको स्मरण गराउने अष्टमात्रिका, पृथ्वी प्राणी जिउन सम्भव बनाउने सूर्यनारायण सोभन्दा अगाडि अवस्थित शिवलिङ्ग जसलाई स्थानीयहरु देवताका पनि देवता महानारायण पनि भन्दछन्। त्रिवेणीमा हिन्दूहरुको उत्तमधाम बनाउन केदारनाथ, बद्रीनाथ, रणमुक्तेश्वर, पञ्चमुक्तेश्वर, राधा, कृष्ण, रुक्मिणी, दुईतह जलाधारसहितको शिवलिङ्ग, बासुकी नाग, ब्रम्हायणी, सितलामाई, वंशगोपाल, रामलक्ष्मण, संकटानारायण, मत्स्यनारायण, चारनारायण आदि देवदेवीहरुका मूर्ति र मन्दिरहरु स्थापना भएका छन्। भारतस्थित चारधाम जान नसक्ने/नमिल्नेहरु यस त्रिवेणीधामलाई नै चारधाम तीर्थको रुपमा स्वीकार गरी सोही बराबरको आत्मिक एवं मानसिक सन्तोष र पुण्य मिलेको सुखानुभूति प्राप्त गर्दछन्।

अभय मल्लले बस्ती विस्तार गर्ने क्रममा ७०० धुरी पुर्‍याइएको सहरलाई १७ औं शताब्दीमा भूपतीन्द्र मल्लकी बहिनी पनौतीकी रानीको पालामा तान्त्रिक विधिद्वारा यात्राको प्रकृतिअनुसार सहर भित्र–बाहिर गर्न विभित्र स्थानमालायकु, सि, कार्य आदिध्वाका (द्वार) हरु बनाउनुको साथै सुरक्षार्थ सहर बाहिर अष्टमात्रिकाका मानेश्वरी, काथंगणेश र ईतावरी र अन्य पाँचलाई सहरभित्र स्थापना गरेका थिए। त्रिवेणीको महिमा र महत्व बुझेका रानीले सहरका तान्त्रिक र अन्य स्थानका तान्त्रिक आचाजुहरुसँग सल्लाह गर्दा त्रिवेणीको विकासमा एक रातमा थप कार्य गर्न सके मानव जीवन मोक्षधाम बत्रसक्ने सुझाव प्राप्त भयो। उत्तमधाम बनाउने प्रयास गर्दा एक रातमा सुझाएका त्रिवेणी घाटको सम्पूर्ण विधिविधान त पूरा गरे तर धामबाट उत्तरतर्फको हिमश्रृंखला दर्शन गर्नसक्ने व्यवस्थाको लागि प्रयास गरिरहेको अवस्थामा कुखुराको भालेले बिहान भएको संकेत दिएकोले उक्त कार्य सफल भएन। तसर्थ धर्मालम्बीहरु बाह्रवर्षे मकर मेलामा त्रिवेणीको जल आफ्नो दायाँ हातको बुढी औंला र नाडीबीचको खोबिल्डो वा दाहिने हातको हत्केलामा लिएर सुमेरु पर्वत (गोरखनाथ/डलिनचोक डाँडा) को सिरानीमा पुगेर हिमाल पर्वततिर फर्केर शिवको नाममा जल चढाई प्रयाग तीर्थयात्राको कार्यलाई पूर्णता दिने निरन्तरता कायम रहिआएको छ।

नेपाल इतिहासको स्वर्णीम युगको अनुभूति पलाती दे (पनौती सहर) ले पनि गरेको थियो भत्रे यहाँको विद्यमान कला–कौशल र ऐतिहासिक प्राकृतिक संरचनाले पुष्टि गर्दछ। अफसोच शाहकालमा केही कला–कौशलहरु चोरी भए भने बहुदल र गणतन्त्रले विकासको नाममा कला र कौशलतामा आधिकारिक तवरले मौलिकतामा आँच पुर्‍याउनुको साथै नगर आम्दानीको लागि अलौकिक प्राकृतिक सम्पदा (उल्टो फर्केका ढुंगा तथा जग्गाहरु) बिक्री गरे। घाइते सहरलाई दश वर्षे सशस्त्र द्वन्द्वले दन्त्यकथाको सहर बिमार बनाएको थियो। छ वर्ष पहिले गएको भूइचालो र दुई वर्षदेखिको कोभिड १९ माहामारीले गर्दा बढ्दो आध्यात्मिकताबाट जारी मकर मेलाले इन्द्रलाई उद्धार गरेजस्तै सुषुप्त पलाती सहरले पनि जिवन्तता पाउने आशा राख्न सकिन्छ।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्