कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (पुस २५ देखि माघ १ सम्म)

फेरि प्यान्डेमिकको दलदलमा विश्व

विश्वमा कोरोना प्यान्डेमिकको पछिल्लो लहर हरेक दिन नयाँनयाँ कीर्तिमान बनाउँदै अघि बढिरहेको छ र पछिल्लो समय यो हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

विश्वको वर्तमान प्यान्डेमिक लहरलाई छैठौं लहर भन्न सकिन्छ। WHO का अनुसार सबैभन्दा पहिलो लहर सन् २०२० को मार्च-अप्रिल महिनामा देखिएको थियो जुन बेला कोरोना संक्रमण विश्वमा भर्खरै फैलिन सुरु गरेको थियो र अधिकतम करिब ८० हजार दैनिक नयाँ संक्रमण देखा परेको थियो। केही तलमाथि हुँदै प्यान्डेमिक अघि बढ्दै गयो र २०२० अगस्ट-सेप्टेम्बरतिर दोस्रो लहर सुरु भएको थियो जुन बेला दैनिक अधिकतम करिब ३  लाखभन्दा धेरै नयाँ संक्रमण देखा पर्‍यो। त्यही क्रममा २०२० डिसेम्बर र २०२१ जनवरीतिर तेस्रो लहर देखा परेको थियो जुन बेला दैनिक अधिकतम करिब ८ लाख नयाँ संक्रमण देखा पर्‍यो। तत्पस्चात प्यान्डेमिक लहर केही घट्दै गई दोस्रो लहरकै हाराहारीमा पुगे पनि फेरि २०२१ अप्रिल-मे महिनातिर चौथो लहर आयो जुन तेस्रो भन्दा केही ठूलो भई दैनिक अधिकतम करिब ९ लाख नयाँ संक्रमण देखा पर्‍यो। पाँचौं लहर २०२१ को अगस्टमा देखा पर्‍यो जुन तेस्रो लहरभन्दा केही सानो थियो र दैनिक अधिकतम करिब ७ लाख ५० हजार नयाँ संक्रमण देखा परेको थियो।

यसरी पहिलो र दोस्रोको दाँजोमा तेस्रो प्यान्डेमिक लहर निकै ठूलो भएता पनि तेस्रो, चौथो  र  पाँचौं प्यान्डेमिक लहरमा धेरै ठूलो भिन्नता नदेखिएपछि विश्वमा कोरोना प्यान्डेमिकको अन्त्य सुरु भयो भन्ने मानसिकता हामी सबैमा देखियो र फलस्वरूप सिंगो विश्व पूर्वअवस्थामा फर्किंदै गएको थियो। सन् २०२१ को अक्टोबरतिर दैनिक नयाँ संक्रमण झन्डै दोस्रो लहरको हाराहारीमा आइसकेको थियो। तर अचानक २०२१ को नोभेम्बरको अन्त्यतिर ओमिक्रोन नामक कोरोना भाइरसको नया प्रजातिको उत्पत्तिसँगै सिंगो विश्व फेरि एक पटक प्यान्डेमिकको दलदलमा फस्न थाल्यो र छैठौं लहरको सुरुवात भयो। पछिल्लो लहर अर्थात् छैठौं लहर निकै तिब्र गतिमा फैलिन सुरु गरी एक महिनाभित्रै पहिलाकोभन्दा झन्डै ४ गुणा ठूलो भइसकेको छ।

यसरी पछिल्लो  समय कोरोना आतंक फेरि एक पटक विश्वभरि मच्चिएको छ र नेपाल पनि यसबाट अछुतो रहन सक्ने  सम्भावना छैन।

तर अन्धकारमा पनि एउटा सानो बत्तीले आशाको दियो जलाइदिन्छ। हाल विश्वमा दैनिक करिब ३४ लाख नयाँ संक्रमण देखा पर्दै गएको परिप्रेक्षमा दैनिक मृत्यु भने ६ हजारदेखि ८ हजार हाराहारीमा मात्रै छ। तेस्रो लहरको बेला २०२१ जनवरीतिर हालसम्मकै सबैभन्दा धेरै दैनिक मृत्यु  १६ हजारभन्दा धेरै देखा परेको थियो। त्यति बेला विश्वको समग्र दैनिक कोरोना मृत्यु दर करिब २% थियो भने हाल यो दर औसतमा ०.२५% जति मात्रै छ जुन पहिलाको दाँजोमा १० गुणाले कम हो। हाल विश्वको दैनिक कोरोना मृत्यु दर ०.१९% देखि ०.३०% सम्म रहेको छ भने हालसम्मको समग्र मृत्यु दर करिब १.८% छ। त्यस्तै हाल दक्षिण एसियाको औसत दैनिक कोरोना मृत्यु दर ०.१७% देखि ०.३९% सम्म रहेको छ भने हालसम्मको समग्र मृत्यु दर करिब १.४२% छ। त्यस्तै हाल नेपालको दैनिक कोरोना मृत्यु दर ०.०५% देखि ०.२५% सम्म रहेको छ भने हालसम्मको समग्र मृत्यु दर करिब १.३८% छ।

तर त्यसो भन्दैमा ढुक्क भएर बस्ने ठाउं चाहिँ पक्कै पनि छैन किनभने ओमिक्रोनको वास्तविक रुप यस विश्वले अझै हेर्न बाँकी नै छ। माथि उल्लेख गरिएजस्तै यदि यसै क्रममा दैनिक नयाँ संक्रमण बढ्दै जाने हो भने उपचारका श्रोत र साधनको कमी हुँदै जानेछ। अस्पतालका स्वास्थ्यकर्मीहरुलाई संक्रमण भएमा जनशक्तिको पनि कमी हुँदै जाने छ। यसरी श्रोत, साधन र जनशक्तिको कमी हुँदै गयो भने सामान्य स्वास्थ्य समस्याले पनि ठूलै र गम्भीर रुप देखाउन सक्दछ। त्यस पछि के हुन्छ सबैलाई चेतना भया।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्ध्यश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उतारचढार हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपाल र दक्षिण एसियामा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसिया प्यान्डेमिकको पछिल्लो सिकार बनिरहेको छ। दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२१ डिसेम्बर २९ देखि जनअरी १२, को कोरोना प्यान्डेमिक सम्बन्धि विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रबृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक कोरोना संक्रमण निकै तिब्र गतिमा बढेको पाइयो। दक्षिण  एसियामा दुई हप्ताअघिको दाँजोमा हाल करिब १७ गुणाले दैनिक संक्रमण बढेको पाइयो। दैनिक मृत्यु संख्या भने केही तलमाथि भई स्थिर देखिए पनि पछिल्लो समय दैनिक संक्रमणसँगै दैनिक मृत्यु पनि बढ्न खोजेको संकेत देखिन्छ।

चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशहरुमा दैनिक संक्रमणमा तिब्र वृद्धि हुँदै गएको प्रबृत्ति देखियो। संख्याको हिसाबले दुई हप्ता अघिको दाँजोमा हाल दैनिक संक्रमणमा भारतमा करिब २० गुणा, नेपालमा १० गुणा, बंगलादेशमा ६ गुणा, पाकिस्तानमा ५ गुणा, माल्दिभ्समा ४ गुणा र श्रीलंकामा २ गुणा वृद्धि भएको छ।

त्यस्तै, चित्र न. ३ले  दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दैनिक मृत्यु दक्षिण एसियाका सबै देशहरुमा स्थिर प्रबृत्तिको देखियो।

चित्र न. ४ले दक्षिण एसियाली र अन्य केही देशहरुको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्व विद्यालय (Johns Hopkins University) र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत संक्रमण दरको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशहरुमा दैनिक संक्रमण दरमा पनि तिब्र वृद्धि भएको देखियो। पछिल्लो समय दक्षिण एसियामा नेपालको संक्रमण दर सबैभन्दा उच्च रह्यो भने पाकिस्तानको सबै भन्दा कम। त्यस्तै  नेपाल र भारतको संक्रमण दर सबैभन्दा तिब्र प्रबृत्तिको देखियो भने श्रीलंकाको सबैभन्दा सुस्त। अमेरिकाको संक्रमण दर गतहप्ता हालसम्मकै सबैभन्दा उच्च, ५६% भन्दा धेरै देखियो भने जापान र बेलायतको संक्रमण दरमा पनि निकै वृद्धि भएको देखियो।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने  नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२२ जनवरी ९ देखि १५  (बि.सं २०७८ पौष २५ देखि माघ १) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न. ५मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, माघ १ गते शनिबारसम्म, देशभरि जम्मा १७ हजार ४ सय ५६   जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ८ लाख ४९ हजार २ सय ४ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि जम्मा २९७५ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गतहप्ता १५  रह्यो जुन दुई हप्ताअघि पनि ८ थियो। यो समेत नेपालको जम्मा कोरोना मृत्यु ११६१७ पुगेको छ। गतहप्ता जम्मा ७१८९६  पीसीआर परिक्षण गरियो जुन दुई हप्ताअघि ५५४१४ थियो।

गतहप्ता काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ६४.७% जति देखिएको छ जुन दुई हप्ताअघि ६५.४१% थियो। अर्थात् गतहप्ता देशको कुल दैनिक संक्रमण मध्ये ६४.७% काठमाडौँ उपत्यकामा मात्रै भेटिएको थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate)     

प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न. ६ले  नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दर देखाएको छ जुन तिब्र गतिमा बढ्दै गएको प्रबृत्ति देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ९.५% देखि अधिकतम ३५.५६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर २३.५६% रह्यो जुन दुई हप्ताअघि ५.३३% थियो। नेपालमा पछिल्लो समय औसत साप्ताहिक संक्रमण दर वृद्धि हुने क्रम तिब्र र निरन्तर देखिएको छ।

संक्षेपमा, गतहप्ता, बि.सं २०७८ पौष २५ देखि माघ १, नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर निकै बढेको पाइयो। त्यस्तै मृत्यु पनि केही बढेको पाइयो। त्यस्तै सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण पछिल्लो समय पनि उच्च नै रह्यो। हाल देशभरिको दैनिक कोरोना संक्रमण मध्ये ६४% भन्दा धेरै काठमाडौँ उपत्यका मात्रै भेटिने गरेको छ।

त्यस्तै गतहप्ता दक्षिण एसियामा समग्ररुपमा दैनिक संक्रमण निकै बढेको पाइयो यद्यपि दैनिक मृत्यु भने केही स्थिर देखियो। युरोप र अमेरिकामा केही हप्तादेखि सुरु भएको नयाँ प्यान्डेमिक लहर र ओमिक्रोन भ्यारिएन्ट निकै आक्रामक ढंगले बढेको पाइयो।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशहरुमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्दछ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिदैन।

यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउंछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

prabinshrestha@hotmail.com

कन्सल्टेन्ट न्यूरोसर्जन

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्