सडकमा खनेको खाल्डोमा परेर बुटवलमा एक युवकको मृत्यु

बुटवल– सडक मर्मतका लागि खनेको खाल्डोमा परेर बुटवलमा एक युवाको मृत्यु भएको छ।

सडक मर्मतका लागि खाल्डो खनिए पनि निर्माणकर्ताले उचित सुरक्षा र सावधानीका उपाय नअपनाएकाले ती युवाको मोटरसाइकल खाल्डोमा खसेको थियो। खाल्डोमा परेर गुल्मी छत्रकोट ३ का शोभाखर पन्थको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुटवल योगिकुटीदेखि मगरघाटसम्मको सडक विस्तारको क्रममा खनेको खाल्डोमा पन्थ सवार लु ७० प १३५३ मोटरसाइकल शनिबार राति खसेको प्रहरीले जनाएको छ।

दुर्घटना शनिबार राति भए पनि आइतबार बिहान मात्रै मर्निङ वाकमा गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खाल्डोमा खसेका उनलाई उद्धार गरेर अस्पताल पुर्‍याए पनि उपचारका क्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

रुपन्देहीको सैनामैनामा बस्दै आएका पन्थले दर्जनौं गीत छायांकन तथा अभिनयसमेत गरेका छन्। उनका १ श्रीमती र १ सन्तान छन्।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्