वालिङमा निःशुल्क डायलासिस सेन्टर सञ्चालन

फाइल तस्बिर

वालिङ– स्याङ्जाको वालिङमा मिर्गौलाका बिरामीको उपचारका लागि निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा आएको छ।

रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो।

डायलासिस सेन्टर सञ्चालनमा आएसँगै वालिङ तथा आसपासका पर्वत, गुल्मी, पाल्पा जिल्लाका केही भेगका मिर्गौलाका बिरामीलाई सहजता हुने भएको छ। गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा सञ्चालनमा आएको सेन्टरमा आठ वटा मेसिनबाट डायलासिसको काम सुरु गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले बताए।

उनका अनुसार हाल आठवटा मेसिन राखेर सुरु गरिएको डायलासिस गर्ने कार्यलाई बढाएर एघार वटा पुर्‍याइने छ। मिर्गौलाका बिरामीको उपचारमा सहजताका लागि डायलासिस सेन्टर वालिङमा स्थापना गर्न नगरपालिकाले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्दै आइरहेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।

सेन्टर वालिङमै स्थापना भएर कार्य थालेसँगै स्याङ्जाको वालिङसहित छिमेकी जिल्लाका मिर्गौलाको उपचार गर्नुपर्ने नागरिकलाई पनि सहजता हुने प्रमुख खाँणले बताए। स्याङ्जा जिल्लाको मध्यभाग वालिङमा सेन्टर स्थापना हुनुले पनि सम्बन्धित बिरामीलाई टाढा जानुपर्ने अवस्थाको अन्त्य भई छिटोछरितो र निःशुल्क हुने भएपछि निक्कै प्रभावकारी हुने रोटरी क्लब अफ वालिङका अध्यक्ष युवराज पाठकले बताए।

रोटरी क्लब अफ वालिङले गरेको प्रस्तावलाई रोटरी इन्टरनेशनलले सेन्टर सञ्चालनका लागि रु पाँच करोड ५३ लाख सहयोगस्वरुप उपलब्ध गराएको अध्यक्ष पाठकले जानकारी दिए। माघ १ बाट सञ्चालनमा आएको सेन्टरले दैनिक १६ जना मिर्गौलाका बिरामीको डायलासिस गर्न सकिने छ।

सेन्टरमा डायलासिस गर्ने बिरामीको रेकर्ड राखेर सरकारलाई पठाउने र त्यहीँबाट भुक्तानी लिने भएकाले बिरामीलाई कुनै पनि शुल्क नलाग्ने अध्यक्ष पाठकको भनाइ छ।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्