हुम्लामा खाद्यान्न ढुवानीलाई तीब्रता दिन माग

सिमकोट– हुम्लामा चामल ढुवानीलाई तीब्रता दिन सर्वपक्षीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ध्यानाकर्षण गराएको छ।

पैदल मार्ग र हवाई मार्गबाट खाद्यन्न ढुवानी कार्य सुस्त गति हुँदा जनतालाई बिक्री वितरणमा समस्या देखिएपछि भन्दै लिमिटेडको ध्यानाकर्षण गराइएको हो।

आइतबार जिल्ला प्रकाशन कार्यालयमा बसेको जनप्रतिनिधि, राजनीतिक दल लगायतको सर्वपक्षीय बैठकले लिमिटेडको खाद्यन्न निक्कै सुस्त गतिमा ढुवानी भइरहेको भन्दै ढुवानी कार्यलाई तीब्रता दिन ध्यानाकर्षण गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।

हालसम्म ५० प्रतिशतभन्दा बढी खाद्यन्न ढुवानी भइसक्नुपर्नेमा आइतबारसम्म यसवर्षको स्वीकृत कोटाको खाद्यन्नमध्ये १ हजार २०० क्वीन्टल मात्र ढुवानी भएको छ। जब कि यसवर्ष नेपालगञ्ज र सुर्खेतबाट १० हजार क्वीन्टल खाद्यन्न कोटा निर्धारण गरिएको छ।

प्रजिअ आचार्यले गतिलो किसिमले खाद्यन्न ढुवानी हुन नसकेका कारण चार महिनादेखि जनतालाई खाद्यन्न बिक्री गर्न नसकिएको बताए।

शुक्रबारबाट सर्वसाधारणले पाउने कोटाको पचास प्रतिशत मात्र खाद्यन्न बिक्री गर्ने भनेपछि स्थानीयले विरोध जनाउँदा सिमकोट गाउँपालिका १ र २ नम्बर वडाका बासिन्दालाई मात्र चामल बिक्री गरेर रोकिएको छ।

हाल लिमिटेडको हुम्ला शाखामा एक हजार क्वीन्टल खाद्यन्न मात्र मौज्दात रहेको छ। दैनिक सिता एयरले दुईदेखि तीन उडानबाट खाद्यन्न ढुवानी गर्दै आएको छ।

बैठकमा सहभागी सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले अब लिमिडेटको केन्द्रीय कार्यलयमा यो विषयलाई लिएर डेलिगेशन जाने बताए। उनले खाद्यन्न ढुवानीको जिम्मा पाएर पनि चाँडो ढुवानीको व्यवस्था गर्न नसक्दा जनताले खाद्यन्न समस्या भोग्नु परेको बताए।

बैठकमा जिल्लास्थित सबै राजनीति दलको पनि उपस्थिति रहेको थियो। यसअघि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा खाद्यान्न चाँडो ढुवानी गर्ने व्यवस्था गर्न लिमिटेडलाई निर्देशन दिएका थिए।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्