महाकाली नदी स्वच्छताका लागि दीप प्रज्वलन

धनगढी– महाकाली नदीको स्वच्छताका लागि दार्चुलामा दीप प्रज्वलन कार्यक्रम सञ्चालन भइरहेको छ। दार्चुला जिल्लाका अगुवाहरुले महाकाली नदी स्वच्छ राख्नु पर्ने भन्दै अहिले नदीको किनारै किनार दीप प्रज्वलन कार्यक्रमलाई निरन्तरता दिएका छन्।

शनिबार मात्रै वीरेन्द्र वन, बसपार्क, खुलामञ्च, घाटबजार, लगायतका क्षेत्रमा साँझतिर नदी किनारमा १ हजार ८ वटा दीप प्रज्वलन कार्यक्रम तथा भजन कीर्तन कार्यक्रम सम्पन्न गरिएको थियो। सोमबार साँझ अर्थात भोलि ६ बजे खलंगास्थित पुलघाटदेखि बंगाबगर क्षेत्रको महाकाली नदी किनारमा १०८ दीप प्रज्वलन गरिने महाकाली नदी स्वच्छता अभियानका संयोजक शंकर सिह धामीले बताए।

कैलाशको शिरबाट बग्ने नदीमा फोहर बढ्न थालेपछि यस सम्बन्धी अभियान नै सञ्चालन गरिएको उनले बताए। पवित्र नदीको स्वच्छता र संरक्षणका लागि सबैले योगदान गरौँ भन्दै सामूहिक भेला भएर प्रतिज्ञा गरिएको उनको भनाइ छ। खासगरी सदरमुकाम क्षेत्रमा घरभित्र र बजारको ढल महाकाली नदीमा मिसाइएको छ। यसबाट नदी दूषित बनेको छ।

‘यो नदीको स्वच्छता कायम राख्नु मानव जगतको कर्तव्य हुन जान्छ,’ उनले भने, ‘नदीको पानी नै प्रयोग गर्नुपर्ने बाध्यता हुनसक्छ। यसका लागि नदीको स्वच्छता र सरसफाइमा ध्यान जानु आवश्यक छ।’

गत पुष १८ गते सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वन नजिकै भएको जागरण भेलामा विभिन्न क्षेत्रका व्यक्तिहरुले नदी दुर्गन्धित हुँदा नदीमा आश्रित जीवजन्तु पनि विस्तारै लोप हुँदै गएको बताएका थिए। महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ।

जागरण भेलामा सहभागी विमल बोहराले भने,’बङ्गाबगडबाट किम्तडीसम्म हेर्‍यो भने जताततै फोहरै फोहर छ। यो हामी मानव जातिलाई सुहाउने काम होइन।’ खासगरी बङ्गाबगडबाट पुलघाट तथा किम्तडी नजिकैको छेउमा फोहरको थुप्रो छ।

महाकाली नदी नियन्त्रण आयोजनाका अनुसार सदरमुकाम खलङ्गाको बङ्गाबगडबाट तलैसम्म नदी किनारमा फोहरमैला छ। बढ्दो सहरीकरण र बस्ती विकासका कारण भारततर्फ पनि महाकालीमा प्रदूषण बढेको छ। पटक–पटक गरिएको नदीको स्वच्छता परीक्षणका क्रममा महाकालीको पानीमा कोलिफर्म, क्षारीयपन, एमोनियम र नाइट्रेडको मात्रा पनि बढ्दो रहेको बताइएको छ।

मदिराका बोतल, फोहरजन्य वस्तु जथाभावी फालिएका अहिले पनि देखिन्छन्। शङ्करसिंह धामीले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन्, ‘सनतान धर्मावलम्बीहरूको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छताका लागि तन, मन, वचन र कर्मले सकारात्मक योगदानको प्रण गर्दछु, यसका लागि निस्वार्थ रूपमा क्रियाशील भइरहने र यो पुण्यकार्यमा सहभागिता बढाउन सिर्जनात्मक रूपमा सक्रिय भइरहने सङ्कल्प गर्दछु।’

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्