अफगानिस्तानमा सहायता सामग्री हस्तान्तरण गरेर फर्कियो नेपाली टोली

काठमाडौँ- मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

आइतबार बिहान विमानमा सहायता सामग्री लिएर अफगानिस्तान पुगेको नेपाली टोलीले कावुल अन्तराष्ट्रिय विमानस्थलस्थित संयुक्त राष्ट्र संघका महासचिवका उपविशेष प्रतिनिधि तथा अफगानिस्तानका लागि मानवीय तथा विकास संयोजक रामिज अलकबरोबलाई सो सहयोग हस्तान्तरण गरेको हो ।

आइतबार परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको थियो भने साँझ सो सहायता हस्तान्तरण गरेर नेपाल फर्किएको छ ।

अफगानिस्तानका जनताका लागि सहायता सामग्री हस्तान्तरण गर्न पाउनु नेपालको लागि गौरवको विषय भएको बताएको नेपाली टोलीका नेता एवम् परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।

उनले उक्त मानवीय सहायता उपलब्ध गराउने काम परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उनीप्रति सम्मान भाव व्यक्त गरिन्। त्यस अवसरमा प्रवक्ता लम्सालले उद्धार मनका साथ सो मानवीय सेवा कार्य गरेको भन्दै निजी क्षेत्रप्रति नेपाल सरकारको तर्फबात आभार समेत व्यक्त गरिन्।

यता, सरकारले आह्वानमा सहायता जुटाउन सहयोग गरेका व्यवसायीहरुले पनि देशको सीमा बाहिर मानवीय सहायता उपलब्ध गराउन पाउँदा खुशी व्यक्त गरेका छन्। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल र नेपालस्थित विभिन्न अवैतनिक दूतहरुको साझा संस्थाका डीन लोकमान्य गोल्छाले मानवीय सहायताका लागि नेपालले लिन मात्रै होईन्, दिन पनि सक्छ भन्ने सन्देश दिन सकेकोमा गर्व महशुस भएको प्रतिक्रिया दिए।

अन्तराष्ट्रिय स्तरमा नेपालको छवि र प्रतिष्ठानको लागि सरकारलाई सहयोग गर्न पाएकोमा आफूहरु खुशी भएको उनीहरुले बताए।

त्यस्तै काबुलसम्मको यात्राका लागि विमान चाटर्ड गरेकोमा हिमालयन एयरलाईन्सका क्याप्टेन प्रमेश सिंहले सरकारको मिसनमा सहभागी हुन पाउँदा आफू भाग्यमानी भएको बताए।

अफगानिस्तानमा गत अगष्टमा तालिवानले आफ्नो हातमा सत्ता लिएपछि त्यहाँ आर्थिक तथा मानविय संकट उत्पन्न भएको छ । अफगानिस्तानमा हाल खाद्यान्नको अभाव हुनुका साथै लाखौँ बालबालिकालाई कुषोषण हुन थालेको छ ।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्