बालिकाको जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा आमा–छोरा पक्राउ

वीरगञ्ज– नौ वर्षीया बालिकाको जबर्जस्ती करणीपश्चात हत्या गरेको अभियोगमा बाराबाट आमा–छोरालाई प्रहरीले पक्राउ गरेको छ।

बाराको आदर्शकोतवाल गाउँपालिका–८ कोतवाली बस्ने २० वर्षीय सन्तोष साह कानु र उनकी आमा ४० वर्षीया शान्ति देवीलाई प्रहरीले पक्राउ गरेको हो।

गत पुस २५ गते बाख्रा चराउन गएकी सोही गाउँपालिका वडा नम्बर ७ की नौ वर्षीया बालिका मृत अवस्थामा पुस २७ गते जमुनी खोलामा भेटिएकी थिइन्।

प्रहरीका अनुसार बाख्रा चराउने क्रममा ती बालिका पानी खानका लागि नजिकै रहेको बिन्देश्वर साह कानुको कुखुरा फारमतर्फ गएकी थिइन्। त्यसबेला सोही स्थानमा रहेका सन्तोषले बालिकालाई जबर्जस्ती करणी गरेको र घटना बाहिरिने डरले हत्या गरेको प्रहरीले जनाएको छ। सन्तोषकी आमाले अपराध पुष्टि हुने प्रमाण नष्ट गर्ने प्रयास गरेको प्रहरीको भनाइ छ।

घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान गर्दा सन्तोषलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनले घटना  स्वीकार गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

पक्राउ परेका सन्तोष र उनकी आमालाई ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्