प्रदेश १ को कृषि मन्त्रालयका सचिव तिवारीलाई कोरोना संक्रमण

मोरङ– प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रामनन्दन तिवारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीका अनुसार शुक्रबार पीसीआर परीक्षण गरेका सचिव डा.तिवारीको शनिबार ढिलो गरी रिपोर्टको जानकारी आएको हो।

मन्त्रालयका सचिवसँगै अन्य केही कर्मचारी संक्रमति भएको जनाउँदै प्रवक्ता उप्रेतीले मन्त्रालयको काम कारबाही र दैनिक भेटघाटलाई बन्द गरिएको जनाएका छन्। यसबीच न्यून कर्मचारीसँगै आकस्मिक कार्यका लागि मन्त्रालयको फोन सम्पर्क गर्न आह्वान गरेका उप्रेतीले दुई दिनभित्र मन्त्रालयका भवन, कोठा डिस्इन्फेक्ट गरिने जानकारी दिए।

सचिव तिवारीले शुक्रबार र शनिबार सुनसरी तथा विराटनगरमा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए। शुक्रबार विराटनगरको एक होटलमा प्रदेशका उच्च पदस्त व्यक्तित्वको भेलामा समेत उनी सहभागी भएको मन्त्रालय कर्मचारीको भनाइ छ।

यसबीच सचिव डा. तिवारीले शनिबार दुहबीमा एक तालिम कार्यक्रममा सहभागिता जनाएको मन्त्रालय कर्मचारीको भनाइ छ। सचिव डा. तिवारीले शुक्रबार बेलुका पीसीआर परिक्षण गरेको र शनिबार बेलुका रिपोर्ट पोजिटिभ आएको बताइएको छ।

पीसीआर परीक्षण गरेपछि आइसोलेसनमा बस्नुपर्ने मापदण्डलाई सचिवले नै नजरअन्दाज गरेपछि मन्त्रालयका अन्य कर्मचारीमा समेत कोभिडको त्रास बढेको छ।

मन्त्रालय कर्मचारीका अनुसार सचिवका दुई जना सवारी चालक कोभिड परीक्षण गरी हाल आइसोलेसनमा रहेका छन्।

त्यसैगरि उनी नजिक भएर काम गर्दै आएका मन्त्रालय थप दुई जना कर्मचारीको आइतबार पीसीआर परीक्षण गरिएको छ। उनीहरुको नतिजा सोमबार आउने बताइएको छ।

माघ २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्