शिक्षा ऐन र नियमावली जारी गर्न माग गर्दै मुख्यमन्त्री राईलाई ज्ञापनपत्र

मोरङ– प्रदेश १ शिक्षा ऐनसँगै नियमावली यथाशीघ्र जारी गर्नुपर्नेलगायतका विभिन्न १३ बुँदे माग प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले राखेको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार समितिले मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष ज्ञापन पत्र बुझाउँदै माग राखेको हो।

संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले १३ बुँदे माग राखी ज्ञापन पत्र बुझाएको हो।

सो क्रममा टोलीले प्रदेशको शिक्षा ऐनसँगै नियमावली तुरुन्त जारी गर्नुपर्ने कुरामा जोड दिएको छ। सो क्रममा टोलीले विद्यालयस्तरमा बालबालिकालाई खोपको सुनिश्चिता गर्नुपर्ने र स्वास्थ्यको मापदण्ड अपनाइ विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न प्रदेश सरकारसँग माग गरेको छ।

ज्ञापन पत्रमा प्रदेशमा न्यूनतम तलबमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारीहरूको समस्या समाधानका लागि विद्यालयमा दरबन्दी कायम गरी स्थायित्वको प्रबन्ध गर्न जोड दिइएको छ। उमेरको हद नाघेका राहत शिक्षकलाई शिक्षा सेवा आयोगको परीक्षामा सहभागी गराउनुपर्ने उनीहरुको भनाइ छ।

समितिले ज्ञापन पत्रमा शिक्षा सेवा मर्यादित बनाउन कर्मचारीको भन्दा शिक्षकको तलब १० प्रतिशत बढी हुनुपर्ने, प्रदेश १ को कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्चिनुपर्ने बताएका छन्।

माघ ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्