हुम्लामा आज १४० क्वीन्टलभन्दा बढी खाद्यन्न ढुवानी

सिमकोट– हुम्लाका लागि हवाई मार्गबाट ढुवानी अनुदानको खाद्यन्न ढुवानी गर्ने जिम्मा पाएको सीता एयरले एकैदिन १४० क्वीन्टलभन्दा बढी खाद्यन्न ढुवानी गरेको छ। दुई जहाज सञ्चालनमा आएपछि एकैदिन हालसम्मकै बढी खाद्यन्न भएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले एक दिनमा हालसम्मकै बढी खाद्यन्न ढुवानी भएको जानकारी दिए।

यसअघि सीता एयरको एउटा मात्र जहाज सञ्चालन हुँदा खाद्यन्न ढुवानी ढिलो भएको भन्दै सबैतिर विरोध हुने गरेको थियो। आज नेपालगञ्जबाट ३० क्वीन्टल खाद्यन्न ढुवानी भएको हो भने बाँकी सुर्खेतबाट ढुवानी भएको हो।

सोमबारसम्म सीताको एउटा जहाजले मात्र खाद्यन्न ढुवानी गर्दा एक हजार दुई सय क्वीन्टल खाद्यन्न शाखामा भित्रिएको थियो। यसवर्ष हुम्लाका लागि चार हजार क्वीन्टल खाद्यन्न नेपालगञ्जमा र ६ हजार क्वीन्टल खाद्यन्न सुर्खेतमा हवाई मार्गबाट ढुवानीका लागि कोटा निर्धारण भएको छ।

दुई वटा जहाज सञ्चालनमा आएकोले ढुवानी कार्यलाई तीब्रता दिने सीता एयरले जनाएको छ। दुई दिनअघि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र सोमबार जिल्लाको सर्वपक्षीय बैठकले खाद्यन्न ढुवानीलाई तीब्रता दिन लिमिटेडको ध्यानाकर्षण गराएका थिए।

दैनिक रुपमा खाद्यन्न ढुवानी कार्य हुँदै गए चार महिनादेखि खाद्यन्न नपाएका सर्वसाधारणलाई बिक्री वितरण गर्न सहज हुनेछ।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्