जनकपुरधामलाई राजधानी बनाएको विरोधमा पर्सामा प्रदर्शन, मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

वीरगञ्ज– मधेस प्रदेशको राजधानी जनकपुरधाम कायम भएपछि त्यसको विरोधमा पर्सामा विरोध प्रदर्शन भएको छ।

जनकपुरधाम राजधानी भएको विरोधमा नेपाली कांग्रेस र नेकपा एमालेले पर्सामा मंगलबार विरोध प्रदर्शन गरेका हुन्। ‘जनकपुर राजधानी चाहिँदैन, वीरगञ्जलाई राजधानी कायम गर’ भन्दै नेकपा एमाले पोखरियाले पोखरियामा विरोध प्रदर्शन गरेको छ।

एमाले नगर कमिटीले आयोजना गरेको प्रदर्शनमा सहभागी भएका एमालेका नेता कार्यकर्ताहरुले ‘मुख्यमन्त्री चाहिँदैन, वीरगञ्ज बेच्न पाइँदैन’, ‘जनकपुर राजधानी खारेज गर, वीरगञ्ज राजधानी कायम गर’ लगायतका नारा लगाएका थिए।

उनीहरुले मधेस प्रदेशका मुख्यमन्त्री पर्सा जिल्ला निवासी भएपनि वीरगञ्जसँग धोखा गरेको आरोप लगाउँदै मुख्यमन्त्री लालबाबु राउत गदीविरुद्ध पनि नारावाजी गरेका थिए।

यस्तै वीरगञ्जमा नेपाली कांग्रेस वीरगञ्ज महानगर समितिले कालो झण्डासहित र्‍याली निकाल्दै विरोध प्रदर्शन गरेको छ। वीरगञ्जलाई राजधानी नबनाइएको विरोधमा कांग्रेस महानगर समितिले कालो झण्डासहित नाराबाजी गर्दै मोटरसाइकल र्‍याली निकालेको थियो।

र्‍यालीमा सहभागी भएका कांग्रेस महानगर समिति सभापति भोला कलवारले वीरगञ्जलाई राजधानी नबनाएको विरोधमा कालो झण्डासहित र्‍याली निकालिएको बताए। उनले जनकपुरलाई आफूहरुले राजधानी नमान्ने बताए।

र्‍यालीले नगरको परिक्रमा गर्ने क्रममा मुख्यमन्त्री राउतको तेजारथ टोलमा रहेको घरमा ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको झ्यालको सिसा फुटेको प्रहरीले जनाएको छ।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्