सुदूरपश्चिममा थप ४८८ जनामा कोरोना पुष्टि

धनगढी– सुदूरपश्चिम प्रदेशमा आज थप ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ५ सय ३६ जनाको कोरोना परीक्षण गर्दा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकामध्ये २ सय ५७ जनामा पीसीआरमार्फत र २ सय ३१ जनामा एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। पीसीआरमार्फत ३ सय ९५ जनाको परीक्षण गर्दा २५७ जनामा संक्रमण देखिएको हो।

आज संक्रमण पुष्टि भएकामध्ये १०१ जना आजै भारतबाट आएका हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४६ र जुलाघाटबाट फर्केका ५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या झण्डै २२ सय पुगेको छ। २ हजार ११ सय ९५ एक्टिभ केस रहेको निर्देशनालयले जनाएको छ।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्