‘नेपाल प्रहरीमा तीन पद थप्दा नैतिक बल पनि थपियो’

काठमाडौँ– नेपाल प्रहरी नियमावलीमा भएको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थप्ने नेपाल प्रहरीले प्रतिक्रिया दिएको छ।

मंगलबार पत्रकारहरुसँगको अन्तर्क्रियामा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता विष्णु कुमार केसीले पछिल्लो प्रहरी नियमावली संशोधन गरेर थप गरिएको तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरीमा उत्प्रेरणा जगाउने बताएका हुन्।

उनले नियमावली संशोधन तल्लो तहका प्रहरीको हितको लागि भएको बताए। उनले प्रहरीमा थप गरिएका तीन पदले वृत्तिविकासको अवसर सबैले सम्मान रुपमा पाउने अवस्था आउने बताए।

प्रहरीमा लामो समयसम्म पदोन्नती नभएर एउटै दर्जामा बस्नु पर्ने अवस्थालाई यो संसोधनले हटाएको प्रवक्ता केसीले जानकारी दिए। पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनु साथै काम गर्ने प्रहरीको मनोवल उच्च बनाउने उनको भनाइ छ।

उनले भने, ‘नेपाल प्रहरीमा भइरहेको पदमा ३ वटा पद बढाएको छ। जसमा प्रहरी वरिष्ठ प्रहरी निरीक्षक, सहायक हवल्दार, वरिष्ठ हवल्दार पद थप गरेको छ। त्यस्तै नेपाल प्रहरीमा कार्यालय सहयोगी भनेर एक जना हुने गरेको थियो। अहिले कार्यालय सहयोगीमा ५ रहने व्यवस्था प्रहरी नियमावलीमा थप भएको छ। यसरी पद बढाउँदा आर्थिक प्रभावलगायतमा एउटा निम्न स्तरको कार्यालय सहयोगीले २० वर्षभन्दा माथि काम गरेको अवधि पुगेको रहेछ भने एउटा प्रहरी साहयक निरीक्षक सरहको सेवा र सुविधा पाएर रिटार्ड हुन्छ। यो नियमावलीले तल्लो तहको हितको लागि संशोधन गरिएको छ। यो नियमावलीले सबैभन्दा धेरै कार्यालय सहयोगीको हकमा मिलाएको छ। वृत्तिविकासका अवसरमा सबैले समान अवसर पाउन र त्यस्तो अवस्था रहोस् भन्ने हो। लामो समयसम्म पदोन्नती नभएर एउटै दर्जामा बस्नु पर्ने अवस्था रह्यो। त्यो अवस्था नहोस् भनेर अन्य सुरक्षा निकायजस्तै प्रहरी वरिष्ठ प्रहरी निरीक्षक, सहायक हवल्दार, वरिष्ठ हवल्दार पद नियमावलीमा ल्याएको हो। जसले प्रहरी कर्मचारीलाई सेवा सुविधामा भिन्नतता ल्याउँछ। त्यस्तै लामो समयसम्म एउटै पदमा बस्दा निरासा छाएका कर्मचारीको मनोबल उच्च बनाउने काम नियमावलीले गर्छ। त्यस्तै, एक स्थान माथि बढुवा भयो भन्दै प्रहरी कर्मचारीको उत्प्रेरणा बढ्ने हुन्छ। त्यसले मनोबलसमेत बढाउन मद्दत गर्छ। पद बढुवाको प्रतिस्पर्धालाई सहज बनाएको छ।’

वरिष्ठ उपरीक्षक केसीले प्रहरीमा भएको पद थपले पद बढुवाको प्रतिस्पर्धालाई समेत सहज बनाउने बताए। सरकारले नेपाल प्रहरीको प्रहरी नियमावली संशोधन गर्दै तीन वटा पदहरु प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दारको पद थप गरेको थियो।

उक्त संशोधन प्रहरी नियमावली सरकारले सोमबार राजपत्रमा समेत प्रकाशित गरेको छ। यसरी थप भएको पदका लागि कुनै नयाँ दरबन्दी सृजना नहुने भएकोले धेरै आर्थिक भार सरकारलाई नपर्ने नेपाल प्रहरीले स्पष्ट पारेको छ।

यस्तै यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरीक्षकसम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वतः बढुवा दिने व्यवस्था थियो। सरकारले नियमावली संशोधन गरेर ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एक तह पदोन्नती गरेर अवकाश दिने व्यवस्था गरेको छ।

यसअघि १२ वर्षसम्म प्रहरी नायब निरीक्षक (सई) दर्जामा काम गरेपछि मात्र प्रहरी निरीक्षक र प्रहरी निरीक्षकमा पनि १२ वर्ष काम गरेपछि प्रहरी नायब उपरीक्षकमा पदोन्नती भएर अवकाश पाउने व्यवस्था थियो। यो व्यवस्था हटाएर ८ वर्ष कायम गरिएको छ।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्