नगरपालिकाको सरुवाविरुद्ध शिक्षकहरु अदालतमा

काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाका शिक्षकहरु गैरकानुनी रुपमा सरुवा गरिएको भन्दै कानुनी उपचारमा लागेका छन्।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले गत पुस ९ गते गरेको सरुवाविरुद्ध तीन प्रधानन्यायापक र चार शिक्षकले पाटन उच्च अदालतमा रिट दायर गरेका हुन्।

नगरपालिकाले सुन्ताखान माध्यमिक विद्यालयका प्रधानाध्यापक झलकप्रसाद अधिकारीलाई सहयोगी माध्यमिक विद्यालयमा सरुवा गरेको छ। त्यस्तै ग्राम शिक्षा माविका प्रधानाध्यापक हेमराज घिमिरेलाई सुन्ताखान माविमा सरुवा गरिएको छ भने निर्माण न्यौपानेलाई सहयोगी माविबाट गोकर्ण माध्यमिक विद्यालयमा सरुवा गरिएको छ।

तीन प्रधानाध्यापक बाहेक शिक्षकहरु गोविन्द आचार्य, दुर्गा खनाल, खडक रोकाया, सुमित्रा पराजुलीसहित १० जनालाई नगरपालिका भित्रैको विद्यालयमा हेरफेर गरिएको दाबी गरेका छन्।

शिक्षक आचार्यले नगरपालिकाले आफूहरुलाई सामान्य जानकारीसमेत नदिई एकैपटक गैरकानुनी रुपमा सरुवाको पत्र थमाउन खोजेको आरोप लगाए।

सरुवाविरुद्ध नगरपालिकाकै शिक्षा शाखामा दिएको उजुरी सुनुवाइ नभएको भन्दै शिक्षकहरु पुस २६ गते निर्णय विरुद्ध अदालत गएका हुन्। रिट निवेदनमाथि गत पुस २८ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश लोहित चन्द शाहको एकल इजलासले बुधबार अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।

आफूहरुको सरुवा शिक्षा ऐन र नियमावलीविपरीत भएको जिकिर शिक्षकहरुले गरेका छन्। स्थानीय तहलाई शिक्षक सरुवाको अधिकार कुनै पनि कानुनले नदिए पनि मेयर सन्तोष चालिसे र उपमेयर शान्ति नेपालले जबरजस्ती गरेको गुनासो प्रधानाध्यापक न्यौपानलेले गरे।

उनीहरुले अदालतमा दायर गरेको रिट निवेदनमा भनेका छन्, ‘शिक्षा ऐनको दफा १६ को ज–१,२,३ तथा ४ को व्यवस्थाको प्रतिकूल, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड–ज को व्यवस्थाभन्दा बाहिर एवं शिक्षा नियमावलीले निर्धारण गरेको न्यूनतम विषयगत दरबन्दी संख्याको व्यवस्थाविपरीत कुनै पनि मापदण्डविना गरिएको सरुवा दबरभागी छ।’

आचार्यले आफूलाई राजनीतिक प्रतिशोषका आधारमा सरुवा गरिएको आरोप लगाए। नगरपालिकाले भने शिक्षकहरु आफूले रोजेको सुविधायुक्त विद्यालयमा मात्रै नभइ आवश्यक परेको ठाउँमा जानुपर्ने बताएको छ।

माघ ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्