पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ – पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु भूभागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्।

हाल प्रदेश १ र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका धेरै स्थानहरुमा हुस्सु–कुहिरो लागेको छ।
बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यसैगरी राति पहाडी भूभागलगायत लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैबीच देशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्