स्थानीय प्रशासनको आदेशको उल्लंघन, भारतीय बजारमा नेपालीको भीड (तस्बिरहरुसहित)

धनगढी – कोरोना भाइरस संक्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेशको व्यापक उल्लङ्घन भएको छ।

जिल्ला प्रशासनले ‘एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक रूपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन’ भन्ने आदेश जारी गरेको छ। तर, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र भइरहेका बेला त्यसको रोकथामका लागि सीमा नाकामा भइरहेको प्रयास फितलो देखिएको छ।

भारतका पलिया, वनगाउँलगायतका बजारमा निर्वाध रूपमा आवतजावत भइरहेको छ। भारतबाट स्वदेश फर्किरहेका अधिकांशमा कोरोना पुष्टि भइरहेको छ। नाकामा अहिले भारतमा लामो समय बसेर आएका व्यक्तिहरूबाहेक अन्यको परीक्षण भइरहेको छैन। नेपाल–भारत आउ–जाउ गर्ने नेपालीहरूको कोरोना परीक्षण गर्ने गरिएको छैन। नाकामा भारतमा बसेर आएकाहरूको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ।

अहिले दैनिक पाँच सयको हाराहारीमा नेपालीहरु भारतको सीमावर्ती बजारमा किनमेल गर्न गइरहेका छन्। उनीहरू कुनै चेकजाँच र कोरोना परीक्षणविनै निर्वाध नेपाल–भारत आवतजावत गरिरहेका छन्।

भारतमा कोरोना संक्रमण तीव्र बन्दा सीमामा थप कडाइ हुनुपर्ने हो तर त्यसमा बेवास्ता गरिएको छ। भारतमा अहिले दैनिक अढाई लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्। जसको संक्रमणको जोखिममा नेपाल छ। भारतको पलिया, वनगाउँलगायतका बजार क्षेत्रमा गएका नेपालीहरू त्यहाँका नागरिकसँग प्रत्यक्ष भेटघाट र घुलमिल भएर नेपाल फर्किने गर्छन्।

सीमा नाकामा स्वास्थ्यकर्मीको टोली परीक्षणका लागि खटिएको छ। आवतजावत गर्नेहरूलाई परीक्षणको दायरामा ल्याउन कर्मचारी खटाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि सीमामा खटिएका छन्। तर भारतमा बसेर आएकाहरूबाहेकलाई परीक्षणको दायरामा ल्याइएको छैन। प्रशासनले नै सीमामा वारपार गर्नेहरूलाई परीक्षण गर्ने नीति लिएको छैन।

‘कोरोना फैलिनबाट रोक्न जसरी सरकारले विद्यालय बन्द गर्नेलगायतका निर्णय गरेको छ। त्यसैगरी नाकामा पनि कडाइ गर्नुपर्छ’, धनगढी भन्सारका रामबहादुर थापाले भने, ‘सीमा नाकामा खुकुलो पारेर देशभित्र मात्रै कडाइ गर्नुको कुनै अर्थ छैन। स्थानीय प्रशासनले यसतर्फ बढी ध्यान दिनुपर्ने हो।’

सुदूरपश्चिम प्रदेशका प्रमुख दुई नाका त्रिनगर नाका र गड्डाचौकी नाकाबाट आउने अधिकांश नेपालीहरूमा कोरोना पुष्टि भइरहेको छ। संक्रमितलाई व्यवस्थित गर्न नसकेमा समुदायस्तरसम्म संक्रमण फैलिने खतरा देखिन्छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले सुदूरपश्चिमका नाकाहरूमा भारतबाट आउनेहरूको परीक्षणमा कडाइ गरिएको दाबी गरेका छन्।

उनले संक्रमितहरुलाई कम्तीमा १० दिन होम आइसोलेसनमा बस्न आग्रह गर्दै आफन्तको जिम्मा लगाएर पठाउने गरिएको बताए।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्