फोनपे नेटवर्कमा पुसमा मात्रै ५१ अर्ब बढीको कारोबार

काठमाडौँ – भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस महिनामा मात्र ५१ अर्ब बढीको कारोबार भएको छ। पछिल्लो समय विद्युतीय कारोबार तीव्र रूपमा बढिरहँदा फोनपे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो।

पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढीको कारोबार भएको हो। फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तरबैंक पैसा ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानीलगायतका कार्यबाट यो रकम कारोबार भएको फोनपेले जनाएको छ।

आधा खर्बभन्दा माथिको आँकडा पुरा गरेपछि सोमबार फोनपेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पुरा गर्न सहयोगी भूमिका खेल्ने फोनपेका सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ।

फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ। साथै मर्चेन्टले निःशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन।

फोनपे नेटवर्कमा आवद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेण्ड मनि अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने अन्तर्राष्ट्रिय भुक्तानी पार्टनरमा चाइना युनियन पे र अलि पे आवद्ध छन्।

त्यस्तै फोनपेमा हालसम्म ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। फोनपेमा ई–सेवा, आइएमई पे र सेलपे जस्ता भुक्तानी सेवा प्रदायक आबद्ध छन्। एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ६० लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्