हुम्लाको अर्गानिक सिमी किन्दै खाद्य

सिमकोट – हुम्लामा उत्पादन भएको सिमी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने भएको छ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न र किसानलाई सिमी खेतीप्रति आर्कषित गर्न लिमिटेडले खरिद गर्न लागेको हो। खाद्यले हुम्लाको सिमी खरिद गरेसँगै देशभर बिक्री वितरण गर्नेछ।

लिमिटेडको शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा दुई सय क्विन्टल हुम्लाको सिमी खरिद गर्न लागिएको जानकारी दिए। सिमी खरिद गरेर जिल्ला बाहिर निकासी गर्नका लागि कार्यक्रम स्वीकृत भएको उनले बताए। ‘अब चाँडै खरिद प्रक्रिया अघि बढाइनेछ’, प्रमुख अधिकारीले भने, ‘बजेटसमेत आइ सकेकोले चाँडै स्थानीय खरिद समितिको बैठक बसेर सिमी खरिद प्रक्रिया अगाडि बढाउँछौं।’

हुम्लाको सिमी अर्गानिक र स्वादिष्ट हुने गर्छ। उनले सिमी उत्पादनका हिसाबले हुम्ला निकै सम्भावना भएको र किसानहरुले उत्पादन गरेको सिमीलाई प्रवर्द्धन गर्नका लागि खरिदको व्यवस्था गरिएको बताए।

जिल्लाका सात वटा गाउँपालिकामा सिमी उत्पादन हुन्छ। त्यसमध्ये पनि सर्केगार्ड र चंखेली गाउँपालिकामा सिमी बढी उत्पादन हुने गर्छ। हालसम्म व्यक्तिगत रुपमा थोरै परिमाणमा सिमी जिल्ला बाहिर निकासी हुँदै आएको छ। खाद्यले पहिलोपटक जिल्लाको सिमी धेरै मात्रामा खरिद गरेर जिल्ला बाहिर लाने भएको हो।

प्रमाणीकरण नगरिएको भए पनि विषादी मुक्त जिल्ला भएको कारण हुम्लाको सिमी अर्गानिकसमेत रहेको स्थानीयको दावी छ।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्