वैकल्पिक परीक्षा विधिको माग गर्दै विद्यार्थीहरुको प्रदर्शन : प्रहरीद्वारा हस्तक्षेप, एकजना गम्भीर घाइते

काठमाडौँ – कोरोना भाइरसबाट संक्रमित भएका र लक्षण देखिएका विद्यार्थीहरुसँगै राखेर परीक्षा लिइएको भन्दै स्नातक कानुनका विद्यार्थीले गरेको विरोधमा प्रहरीले हस्तक्षेप गरेको छ।

काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा परीक्षा केन्द्र परेका काठमाडौँ स्कूल अफ ल र चक्रवर्ती कलेज अफ लका परीक्षार्थीहरुले संक्रमण फैलिन नदिन वैकल्पिक परीक्षा विधिको माग गरेका हुन्। परीक्षार्थीहरुको प्रदर्शनमा बुधबार प्रहरीले बल प्रयोग गर्दा एकजना गम्भीर घाइते भएका छन्।

प्रहरीको कुटाइबाट चक्रवर्ती कलेज अफ लमा कानुनको स्नातक तह चौथो वर्षमा अध्ययनरत जीत साह गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। उनको अहिले एभरेस्ट अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको एक विद्यार्थीले जानकारी दिएका छन्।
१५ जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

‘स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई संक्रमित र लक्षण देखिएकालाई पनि एकै ठाउँमा राखेर परीक्षा लिइएको छ’, एक विद्यार्थीले भने, ‘यसले संक्रमणको जोखिम बढाएको छ। हाम्रो माग वैकल्पिक विधिबाट परीक्षा होस् भन्ने हो। तर प्रहरीले ज्यादती गरेको छ।’

दुई कलेजका पहिलोदेखि पाँचौँ वर्षसम्मका विद्यार्थीको परीक्षाकेन्द्र रहेको कान्तिपुर कलेजमा विद्यार्थी र प्रहरीबीच झडपको अवस्था आएपछि तनाव भएको हो। दिउँसो १ देखि ४ बजेसम्म हुनुपर्ने परीक्षा बुधबार अनिश्चित बनेको छ। पुस २६ गतेदेखि सुरु भएको परीक्षा फागुन १३ गतेसम्म हुनेछ।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्