बाँके प्रहरीले संकलन गर्‍यो ६ महिनामा नौ करोड राजश्व

नेपालगञ्ज – बाँके प्रहरीले पछिल्लो ६ महिनामा नौ करोडभन्दा बढी राजश्व संकलन गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले ६ महिने प्रगति विवरण सार्वजनिक गर्दै यो अवधिमा नौ करोड ३९ लाख ९३ हजार ८ सय ७ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ।

बाँके प्रहरीले गतवर्ष यो अवधिमा २ करोड ७५ लाख ३४ हजार ७ सय ३८ रुपैयाँ राजश्व संकलन गरेको थियो।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६ सय ८ रुपैयाँ, सुन तस्कर कारबाहीबाट ३ करोड १३ लाख ९७ हजार ६ सय ७५, ट्राफिक कारबाहीबाट एक करोड १२ लाख ३४ हजार पाँच सय, नदीजन्य पदार्थ उत्खनन्‌बाट तीन लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ।

जुवातास कारबाहीबाट नौ लाख ५१ हजार ६ सय १०, काठ तस्कर कारबाहीबाट ६ लाख ५३ हजार नौ सय, क्वारेन्टाइन नगराइएका कुखुरा तथा माछामासुबाट २० लाख र फरार अभियुक्तबाट असुल जरिवाना ३७ लाख ९९ हजार ५ सय १४ रुपैयाँ असुली भएको छ।

प्रहरीले सुन तस्करीमा दुई जना, भन्सार चोरी पैठारीमा २७ जना, भारतबाट अवैध रुपमा ल्याइएका बोइलर कुखुरा, चल्ला, मासु, माछामा ७ जना, जुवातासमा ६१ जना, ट्राफिक नियम उल्लंघनमा २० हजार ५ सय ३५ सवारी साधन, सवारी साधन चोरीमा १७ जनालाई पक्राउ गरेको जनाएको छ।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्