प्रदेश १ः राज्यमन्त्री तुम्बाहाम्फेले गरिन् मन्त्रीमा दावी

मोरङ– राष्ट्रियसभा निर्वाचनपछि प्रदेश १ मा हुने भनिएको मन्त्रिपरिषद् विस्तारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मन्त्रीमा दाबी गरेको छ।

मञ्चका तर्फबाट सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेकी विष्णु तुम्बाहाम्फेले मन्त्रिपरिषद् विस्तार हुँदा मञ्चले मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने बताएकी हुन्।

देशसञ्चारसँगै संक्षिप्त कुरा गर्दै राज्यमन्त्री तुम्बाहाम्फेले मन्त्रिपरिषद् विस्तार भएपछि पूर्ण मन्त्रीको भूमिका पाउनु पर्नेमा प्रष्ट रहेको बताएकी हुन्।

हाल सक्रिय देखिएको मन्त्रालयमा राज्यमन्त्रीले अपेक्षाकृत काम गर्न नसकेको गुनासो गर्दै तुम्बाहामफेले मन्त्रिपरिषद् विस्तार गर्दा सामाजिक मन्त्रालयबाट स्वास्थ्य निकाल्नुपर्ने बताइन्। पाँचदलीय गठबन्धन हुँदा मन्त्रालयका विषयमा मञ्चसँग भद्र सहमति भएको दाबी गर्दै उनले भोलिका दिनमा स्वास्थ्यको जिम्मेवारी मञ्चले पाउनुपर्ने उल्लेख गरिन्।

उनले भनिन्, ‘सरकारमा रहनुअघि हामीबीच जेन्टलमेन एग्रिमेन्ट भएको छ। जसअनुसार अहिले राज्यमन्त्रीमा रहने र आउँदा दिनमा अपग्रेड गर्ने आश्वासन दिनुभएको छ। त्यसैले मैले दाबी गर्ने नै स्वास्थ्यमा हो। फेरि महिलाको ३३ प्रतिशत पनि मन्त्रिमण्डलमा पुगेको छैन। अरु साथीहरुलाई पनि समेट्नु पर्छ।’

स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने धेरै कुरा बाँकी रहेको हुँदा, गाउँगाउँ पहाडमा स्वास्थ्यसेवालाई सहज बनाउनुपर्ने अवस्था रहेको हुँदा आफू त्यसतर्फ आकर्षित भएको उनको भनाइ छ।

हाल कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट जनतालाई जोगाउनुपर्ने दायित्व रहेको बताउँदै उनले सुरुवाती र बुष्टर डोजका लागि सरकारले चाँडै नै प्रदेशका सबै जिल्लामा व्यवस्था गर्ने जानकारी दिइन्। राज्यमन्त्री बनिरहँदा आफ्नो जिम्मेवारी के भन्ने यकिन गर्न नसकिरहेको बताउँदै उनले मन्त्रालयको काममा सटिक तालमेल नमिलेको बताइन्।

राज्यमन्त्री तुम्बाहाम्फे ताप्लेजुङबाट समानुपातिकमा मञ्चको तर्फबाट प्रदेश सभामा एकमात्र सदस्यका रुपमा रहेकी छन्।

प्रदेशमा गत कार्तिक १६ गते नेकपा एकीकृत समाजवादीबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री, नेपाली कांग्रेसका केदार कार्की आन्तरिक मामिला तथा कानून, हिमाल कार्की भौतिक पूर्वाधार विकास, नेकपा माओवादीबाट इन्द्र आङ्ग्बो आर्थिक, समाजवादीबाट जयराम यादव सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहेका छन्।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्