खेलकुद क्षेत्रमा लगानी गर्न सरकारले कुनै कन्जुस्याइँ गर्दैनः अर्थमन्त्री शर्मा

फाइल तस्बिर।

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताएका छन्।

बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताएका हुन्।

उनले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको बताए। मन्त्री शर्माले खेलाडीले मेहनत गरेअनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गरे।

उनले खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको पनि बताए। उनले सरकारले खेलाडीको सेवा सुविधा बढाउने विषयमा पहल गर्ने पनि आश्वासन दिए।

उनले भने, ‘नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार रहेको छ। यस्तो पूर्वाधार कमजोर भएको अवस्थामा पनि खेलाडीहरुले जुन मेहनत गरिरहनु भएको छ, त्यो प्रशंसायोग्य छ। यो प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी हुनुभएको छ। खेलाडीहरुले क्रिकेटमा गर्नुभएको मेहनत अनुसार सरकारले पूर्वाधारको विकास र सेवा सुविधाहरु थप्न सकेको छैन, खेलाडीले पनि मेहनत अनुसार सेवा सुविधा पाउनुभएको छैन। त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ। सरकारले पूर्वाधार विकास र खेलाडीको सेवा सुविधा दिन कुरामा सक्दो प्रयास गर्नेछ। यस विषयमा अर्थमन्त्रालयको पूर्ण सहयोग रहने छ। विश्वकपको छनोटको लागि जाँदै हुनुहुन्छ। पछिल्लो समय नेपालमा क्रिकेटको आकर्षण बढेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपाली खेलाडीले उत्कृष्टता प्रस्तुत गर्नुभएको छ।’

अर्थमन्त्री शर्माले थपे, ‘अर्थमन्त्रालयको तर्फबाट क्रिकेट संघलाई क्रिकेट खेल्ने स्थानमा लाइटको अभाव भएकाले काम अगाडि बढाउनु भनेको छु। खेलाडीले गर्ने जिममा समेत समस्या रहेको पाएको छु। त्यो विषयमा खेलकुद सचिवले हेर्नु अनुरोध गर्दछु। खेलकुदमा सरकारले कुनै कन्जुस्याइँ नगरी लगानी गर्नुपर्छ। खेलकुदसँग सम्बन्धित मन्त्रालयले पूर्वाधार निर्माण लगायतका काम अगाडि बढाउँदा अर्थ मन्त्रालयको सहयोग हुन्छ। नयाँ प्रशिक्षक आउनुभएको छ। उहाँकै पालामा विश्वकपमा सहभागी भएको थियो। फेरि पनि सहभागी भएर नेपालले सफलता पाउने विश्वास लिएको छु।’

अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढ्दै गएको बताए। उनले क्रिकेटमा आकर्षण बढेअनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको बताए।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्