जिप्रका मोरङमा आलोपालो प्रणाली

मोरङ– कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक सेवा प्रवाहमा आलोपालो प्रणाली लागू गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेश तिम्सिनाले सेवाग्राहीको भीडभाड हुने र अत्यावश्यक सेवाका लागि प्रशासनले सेवा क्षेत्रभित्र पर्ने स्थानीय तहलाई आलोपालो प्रणालीबाट सेवा दिने जानकारी दिए।

कार्यालयले नयाँ नागरिकताका लागि बुढीगंगा र जहदा गाउँपालिका, सुन्दरहरैंचा नगरपालिकाका सेवाग्राहीलाई आइतबार र बुधबार सेवा प्रदान गर्ने भएको तिम्सिनाले जानकारी दिए।

त्यसैगरी विराटनगर महानगरपालिका, कटहरी र धनपालधानका सेवाग्राहीलाई सोमबार र बिहीबार, बेलबारी नगरपालिका, ग्रामथान र केराबारी गाउँपालिकालाई मंगलबार र शुक्रबार सेवा प्रवाह गर्ने प्रशासनले निर्णय गरेको उनले बताए। तिम्सिनाले बुधबारबाट नै आलोपालो प्रणालीमा सेवा सुरु गरिएको जानकारी दिए।

यसअघि विराटनगरस्थित मालपोत कार्यालयमा कार्यरत ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आन्तरिक बाहेकको सेवा प्रवाह रोकिएको छ।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्