अब लकडाउन गर्नुपर्‍यो भने मुलुक आर्थिक रुपमा चल्न सक्दैन: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा। फाइल फोटो।

अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका छन्।

बुधबार अर्थमन्त्रालयमा निजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै  पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका हुन्।

उनले मन्त्रिपरिषद्मा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका कुरा उठ्न लागेकाले बैठकमा बन्दको शब्द नै राख्न नहुने पक्षमा आफू रहेको बताए। मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणको लागि सुरक्षाका विधिहरु कडाइका साथ लागु गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए।

उनले निजी क्षेत्र र सरकारको प्राथमिकता लकडाउन अथवा बन्द गर्न नहुने पक्षमा रहेकाले कोरोना रोकथामको विकल्प लकडाउन नभएको बताए।

अर्थमन्त्री शर्माले भने, ‘अहिले अर्थतन्त्र चलायमान गर्ने विषयमा प्रयासहरु जारी रहेका छन्। अर्थतन्त्रलाई बिग्रिएर जाने अवस्था नेपालको छैन। कोरोना महामारीको कुरामा कतै बन्दको कुरा उठ्ला भनेर मन्त्रीपरिषद्मा विरोध गरेका छौं। बन्द भन्ने शब्द नै हटाउनु पर्छ भनेका छौं।  बन्द भन्ने शब्द नै नराख्नु भनेका छौं। हामीले कोरोना सुरक्षाको विधिहरु अपनाएर जानुपर्छ। अब पनि हामीले कोरोना महामारी भनेर मुलुक बन्द लकडाउन भन्यौं भने मुलुक चल्दैन। मुलुक आर्थिक रुपमा अगाडि बढ्न सक्दैन। लकडाउन भयो भने अर्थतन्त्र माथि उठाउन सक्दैनौं। त्यसैले अर्थतन्त्र चलायमान राख्नको लागि लकडाउन गर्नु हुन्न भन्ने पक्षमा अर्थ मन्त्रालय छ।’

निजी क्षेत्रले पनि लकडाउनको विरोध गरेकाले त्यही अनुसार अगाडि बढ्ने उनले बताए। ‘आवश्यक परे निजी क्षेत्रसँग छलफल गरेर अगाडि बढ्छौं,’ उनले भने।

त्यस्तै अर्थमन्त्री शर्माले अहिले अर्थथन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको बताए। उनले अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताए। अहिले आफूले नीतिगत परिर्वतन गर्न खोजेको भए पनि बिरोध भइरहेको अर्थमन्त्री शर्माले बताए। उनले पछिल्लो समय बाहिर हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र समाप्त नै नभएको बताए।

अहिले नियोजित रुपमा बाहिर अर्थतन्त्र समाप्त भयो भनेर गतल प्रचार गरिएकोप्रति मन्त्री शर्माले आपति जनाए। उनले केही विषयमा चिन्ता गर्नु पर्ने भए पनि आंतक मच्चाए जस्तो अवस्था नरहेको बताए।

फाइल तस्बिर।

अर्थमन्त्री शर्माले भने, ‘नेपालको अर्थतन्त्रमा देखिएका समस्याहरु नीतिगत तथा संरचनागत व्यवस्थाका कारण उत्पन्न भएका हुन्। लगानी मैत्री बतावरण बनाउनको लागि नीतिगत तथा संरचनागत समस्या उठाउनु भयो। यी हाम्रा संस्थागत विकासका समस्याहरु हुन्। अर्थतन्त्र र राजनीतिसँगै जोडिएका कुरा हुन्। यी अलग अलग कुरा होइनन्। हेर्दा अलग लाग्ने हो, यसमा अर्थतन्त्रले राजनीतिलाई, राजनीतिले अर्थतन्त्रलाई निर्देशित गर्ने हो। यसरी हामी नयाँ प्रक्रियागत कुरामा जाँदा अहिले धेरै समस्याहरु छन्। अहिले मुलुकको अर्थतन्त्र चिन्ता गर्नुपर्ने अवस्थामा छ। तर व्यवसायीहरुले भने जस्तो अर्थतन्त्र बिग्रिसकेको अवस्था छैन। अहिले अर्थतन्त्र तहसनहस नै भयो भनेर आंतक मच्चाउन खोजिएको छ।’

उनले नेपालको अर्थतन्त्र समाप्त बनाएर श्रीलंकाको जस्तो बनाए भन्दै ठूला मिडियाले नियोजित ढङ्गमा प्रचार गरेको दाबी पनि गरे। ‘यो राष्ट्र द्रोह हो कि के हो यो? देशलाई कतातिर लान खोजिँदै छ ? अहिले कतिपय क्षेत्रमा चिन्ता गर्नुपर्ने अवस्था आएको छ। सरकारले यो विषयमा चिन्ता गरेको छ। तर अर्थतन्त्र सबै समाप्त भयो भनेर जनता तथा व्यवसायीलाई जुन खालको त्रास फैल्याइँदै छ, यो गम्भीर विषय भएको छ,’  उनले भने।

अर्थमन्त्री शर्माले सरकारले निजी क्षेत्रको हितभन्दा बाहिर गएर कुनै पनि काम नगरेको बताए। उनले जहिल्यै सरकार निजी क्षेत्रको हितको लागि काम गरिरहेको बताए। मन्त्री शर्माले सरकारले निजी क्षेत्रको उद्योगहरुमा लगानी बढाउन स्रोत नचाहिने नीति ल्याए पनि कालो धनलाई प्रोत्साहन भएको भन्दै विरोध भएको बताए। उनले सरकारले कालो धनलाई प्राथमिकता दिने उद्देश्यले लगानी गर्दा स्रोत नचाहिने नीति नबनाएको बताए। उनले सरकार र निजी क्षेत्र दुबैले यो विषयमा प्रतिकार गर्नु जरुरी रहेको बताए।

मन्त्री शर्माले भने, ‘निजी क्षेत्रको हित विपरित कुनै पनि काम गरिएको छैन। निजी क्षेत्रको हित विपरित जानु भनेको राष्ट्रको हित विपरित जानु हो। त्यसरी जान दिने छैन। अहिले केही नीतिगत व्यवस्थामा परिर्वतन गर्नु पर्ने छ। तर केही नीतिगत व्यवस्था गरौं भन्दा धेरै प्रश्न उठ्ने गरेका छन्। जस्तो लगानीको कुरा गर्दा लगानी गर्दा स्रोत नखोज्ने भन्दा कालो धनलाई प्राथमिकता दिइयो भनियो। तर सरकारको कालोधनलाई प्राथमिकता दिने उद्देश्य छैन। तर लगानी पर्वद्धन गर्ने तथा सम्पति मूल्याङ्कन, अभिलेखन तथा रेटिङ गर्ने कुरा आएका छन्। यी सबै अन्तर सम्बन्धित कुरा हुन् तर लगानीको लागि वातावरण बनाउनुपर्छ त्यसमा प्रश्न उठ्छ। उद्योगलाई प्राथमिकता दिँदा त्यसमा पनि प्रश्न उठ्छ। यस्तो हुँदा देश बनाउने कसरी हो? अर्थतन्त्रलाई आंतक र भ्रमलाई मुक्त गरेर यथार्थमा जानुपर्छ। संकट पर्दा समाधान गर्नुपर्छ। अहिले समस्या देखिए पनि अन्तर्राष्ट्रिय रुपमा तल झरेका छैनौं। सात महिनामा ६ प्रतिशतको वरिपरि छौं। त्यसलाई एक दुई महिनामा बढाउँछौं। अहिले गलत प्रचारवादी भइरहेको छ, यस्तो गलत प्रचारले उद्योगी व्यवसायीलाई प्रभाव पारेको छ। गलत प्रचारको प्रतिवाद सरकार र निजी क्षेत्रले गर्नु जरुरी छ।’

अर्थमन्त्री शर्माले अहिलेको अर्थतन्त्रको अवस्था यो सरकारको कारण नभएर अघिल्लो ओली सरकारले बनाएको नीतिको कारण भएको बताए। उनले अघिल्लो सरकारले बनाएको अर्थतन्त्रको नीतिको परिणाम यो सरकारले भोगिरहेको बताए।

मन्त्री शर्माले भने, ‘आजको अर्थतन्त्र आज देखिने होइन। आज सरकारले गरेका काम भोलि देखिने हो। हामीले हिजोको सरकारले गरेका कामको परिणाम भोगिरहेका छौं। सरकारले आजको आजै अर्थतन्त्र उलटपुलट गर्न सक्दैन। साना साना काम गर्न सकिएला तर हिजोदेखि बनाएका नीतीहरुले पारेको प्रभावको हामीले जिम्मेवारी लिएर समाधान गर्न कुरामा प्रतिवद्ध छ। अझै बैंकिङ क्षेत्रसँग गहन छलफल गर्नुपर्ने देखिएको छ।’

अर्थमन्त्री शर्माले अहिले सरकारले तत्काल गर्न नीतिगत व्यवस्थाको विषयमा काम गरिरहेको बताए। उनले  सरकारले निजी क्षेत्रका सबै व्यवसायीहरुसँग छलफल गरेर आगामी दिनमा अगाडि बढ्ने बताए। अहिले सरकारले विप्रेषण (रेमिटेन्स) सञ्चयकोष बनाउने गरी कार्यविधि बनाउँदै गरेको उनले बताए।

माघ ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्