अपाङ्गता भएकी किशोरी बलात्कृत, युवक प्रहरी नियन्त्रणमा

सांकेतिक तस्बिर

मोरङ – मोरङमा शारीरिक अपाङ्गता भएकी एक किशोरी बलात्कृत भएकी छिन्।

मोरङको सुनवर्षी नगरपालिकाकी १७ वर्षीया किशोरी बुधबार बेलुका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जील मुकारुङले जानकारी दिए।

प्रवक्ता मुकारुङका अनुसार बेलुका घरमा कोही नभएको अवस्थामा बोल्न नसक्ने किशोरी बलत्कारको शिकार भएकी हुन्। बेलुका घरमा कोही नभएको मौका छोपेर सोही स्थानका २२ वर्षीय सुरेन्द्र ऋषिदेवले भान्सा कोठामा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे स्थानीयले चाल पाएपछि होहल्ला गर्दा सुरेन्द्र भागेका थिए।

खबर पाएर घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय रङ्गेलीको प्रहरी टोलीले भाग्दै गरेका सुरेन्द्रलाई पक्राउ गरेको थियो। घटनापछि प्रहरीले पीडित किशोरीको अवस्था सामान्य रहेको जनाएको छ। पीडित किशोरीको विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण हुने प्रहरीले जनाएको छ।

हाल रङ्गेली प्रहरीको नियन्त्रणमा रहेका सुरेन्द्रलाई जबरजस्ती करणी मुद्धा चलाइने छ।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्