पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमण तीब्र गतिमा फैलिन थालेको छ। संक्रमित हुनेको संख्या दिनदिनै बढ्दै गएपनि काठमाडौं लगायतका मुख्य शहरहरुमा मानिसहरुको चहलपहल खासै  घटेको देखिँदैन।

अघिल्लो पटक कोरोना महामारी नियन्त्रणको लागि जारी गरिएको लकडाउनका समयमा घरभित्रै बस्ने सर्वसाधारणहरु पनि हाल स्वास्थ्य मापदण्डलाई ध्यान दिएर आवश्यक कामका लागि बाहिर निस्किन थालेका छन्।

व्यापार तथा व्यवसाय गर्नेहरुले पनि आवश्यक सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिरहेको दावी गरेका छन्।

काठमाडौंको असनमा लामो समयदेखि व्यापार गर्दै आएका हरिकृष्ण प्रजापति सरकारले भनेजस्तै स्वास्थ्य मापदण्ड पालना गररेर काम गरिरहेको बताउँछन्। कोरोना संक्रमणका कारण बजार पुरै ठप्प नरहे पनि पहिलेभन्दा मानिसको चहलपहलमा केही कमी आएको उनको भनाइ छ।

त्यस्तै अर्का व्यापारी पम्फा खत्री पनि स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर व्यापार गरिरहेको बताउँछिन्। बालबच्चा पढाउनकै लागि भए पनि काम गरिरहेको उनको भनाइ छ।

सुरु सुरुमा मानिसहरु कोरोनाका बारेमा खासै जानकार नभएकै कारण पनि सरकारको निर्णयअनुसार घरभित्रै बस्न बाध्य थिए। तर हिजोआज मानिसहरु यसबारे जानकार हुँदै गएकोले सावधानी अपनाएर दैनिक कामहरु गर्दै आएको चिकित्सा मनोविद अन्जन ढकाल बताउँछन्। उनका अनुसार जोगिन सक्यो भने यो समान्य हो र केही समयमा ठिक हुन्छ भन्ने बुझेको भएकोले पनि मानिसहरुले सामान्य रुपमा लिँदै गएका हुन्

हालसम्मको अवस्थालाइ हेर्दा ओमिक्रोनका कारण ज्यान नै गुमाउनेहरुको संख्या न्यून रहेकाले नआतिन र स्वस्थ्य मापदण्ड पालना गरेर दैनिक कामहरु गर्न जरुरी रहेको उनको भनाइ छ।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्