चिजमानको कोरिया अनुभवबाट जन्मिएको ‘सुखावती स्टोर’

काठमाडौँ– फोहोर व्यवस्थापन र वातावरणीय सन्तुलनमा मद्दत पुर्‍याउने हेतुले विगत सात वर्षदेखि ‘सुखावती स्टोर’ले पुराना सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ।

किताब, फर्निचर, महिला, पुरुष तथा बच्चाका कपडा, खेलौना, टिभी, गमलासहित नर्सरीका सामान, फलफूल, विद्युतीय सामग्रीलगायतको व्यवस्थापन गर्दै आएको छ यस स्टोरले।

सुखावती स्टोरमा लुगाहरु दानका रुपमा लिने गरिन्छ। घरघरमै पिकअप गर्नसक्ने म्यानपावर नभएकाले लुगा दिन चाहनेले आफै पुर्‍याइदिन्छन्। सुखावतीको टिमले ६—७ वटा ड्रपबक्स पनि राखेको छ काठमाडौँका हात्तीवन हाउजिङ, नारायणस्थान, वनस्थली, भैंसेपाटी, नख्खिपोट लगायत ठाउँमा।  विभिन्न ठाउँमा। लुगा दिन चाहनेले उक्त ड्रपबक्समा लगेर राख्न पनि सक्छन्।

दानमा आएका लुगाहरु छानेर, सफा गरेर कपडाको अवस्था हेरेर बेच्न राखिन्छ, जहाँ न्यूनतम १० रुपैयाँदेखि ५०० रुपैयाँसम्म कपडाको मूल्य निर्धारण गरिएको छ।

कसरी जन्मियो सुखावती स्टोर?


वैदेशिक रोजगारीको शिलशिलामा कोरिया पुगेका कास्कीका चिजमान गुरुङले त्यहाँ ‘ब्युटीफूल स्टोर’मा काम गर्ने मौका पाए जहाँ थुप्रै सेकेन्ड ह्यान्ड सामानलाई रिमेकिङ गरेर निम्न आय भएकाहरुलाई सस्तोमा बेचिन्थ्यो। त्यहाँ काम गरेपछि उनको एउटै सपना भयो– यो काम नेपालमा त गर्नैपर्छ।

चिजमान गुरुङ।

करिब १२ वर्ष कोरिया बसेका चिजमान सन् २०१२ मा यो आइडिया लिएर नेपाल फर्किए। चिजमान कोरियामा हुँदासम्म ब्युटिफूल स्टोरसमेत गरेर १४० वटाजति यस्ता स्टोरहरु थिए। तर नेपालमा यो कुरा मानिसहरुलाई बुझाएर आफ्नो टीम बनाउनै उनलाई दुई वर्ष लाग्यो।

उनी भप्छन्, ‘टीम बनिसकेपछि पनि सामान कसले दिन्छ? कसले किन्छ? कहाँबाट ल्याउने? कहाँ राख्ने? यी सबै व्यवस्था गर्न केही समय लाग्यो।’

आफ्नै टिमका सदस्यहरुबाटै सामान संकलन गरेर काम थालेका उनले सुरुमा बसुन्धारामा बाटोमै ३—४ महिना राखेर काम सुरु गरे। उनी भन्छन्, ‘काम गर्दा आफ्नो भित्री इच्छा हुनुपर्‍यो, समय दिन सक्नुपर्‍यो। यो कुराहरु भयो भने कुनै पनि काम गर्न नसकिने भन्ने हुँदैन।’

यस्तै टुँडिखेलमा ल्होसार तथा अन्य कार्यक्रमहरु हुँदा र टीमका सदस्यहरुको समय मिलाएर बसपार्कमा पनि केही महिनासम्म सामानहरु बेचे।

बाटोमा बेच्दा पनि विभिन्न किसिमको समस्याहरु आउने गर्थ्यो । नगरपालिकाले आएर सामान उठाउने हो कि भन्ने मानसिक तनाव त दिनकै झेल्नु पर्थ्यो।

बाटोमा बेचेर उनीहरुले केही रकम जम्मा गरे। पछि त्यही रकमले नयाँबजार म्हैपीमा ७ हजारको सटर भाडामा लिएका थिए। अहिले मासिक ३५ हजार रुपैयाँमा सटर भाडा लिएर उनीहरुले गोगंबुमा स्टोर चलाइरहेका छन्।

सन् २०१४ बाट सुरु भएको यस सुखावती स्टोरमा अहिले दुई पुरुष र ६ महिला गरी आठ जना कामदार छन्।

सुखावतीमा लत्ताकपडा मात्र नभई घरायसी सामग्री पनि पाइने गुरुङले जानकारी दिए। उनी थप्छन्, ‘यहाँ लत्ताकपडा मात्र नभइ घरायसी सामानहरु, फलफूलदेखि लिएर तरकारी, गमला, किताब, किचनको सामानहरु, इलेक्ट्रोनिक सामानहरु सबै लिने गरिन्छ।’

सुखावतीमा आएका मानिसहरु लुगा मात्र नभई एक झोला खुशी पनि सँगै लिएर जाने उनी बताउँछन्। यद्यपि आफूले दिएको दान कसैलाई उपयोग होस् भन्ने खालको धारणा मानिसमा हुनुपर्ने उनको भनाइ छ।

उनी भन्छन्,‘कसैले दान गर्‍यो भने पुण्य कमाउँछ भन्ने कुरा त पहिलेदेखि नै नेपालमा थियो नि। तर त्यसलाई हामीले अलिकति मिलाएर लैजान सकेनौँ।’

गुरुङका अनुसार सुखावतीमा लुगा किन्न निम्न वर्गीय मानिसहरु आउँछन्। उनी थप्छन्,‘यहाँ आउनेहरु दैनिक ज्यालादारीमा काम गर्नेहरु नै धेरै हुनुहुन्छ।’

यहाँ सामान किन्न काठमाडौँ उपत्यकाका साँखु, जोरपाटी, कीर्तिपुर, भक्तपुर र बनेपाबाट पनि आउँछन्। उनी भन्छन्, ‘सुखावतीमै सामान किन्न भनेर मुगुबाट आएको भन्नेहरु पनि हुनुहुन्थ्यो। विश्वास नलागेर मलाई फोन पनि गर्नु भएको थियो।’

केहीले भने आफ्नो टोलनजिकै पनि यस्तो स्टोर राखे आफूहरुलाई सजिलो हुने प्रतिक्रियाहरु दिन्छन्। चितवन, बुटवलबाट पनि कतिपय मानिसहरु आएको गुरुङ सुनाउँछन्।

सुखावतीमा आउनेहरु दिनमा ५०—६० जना नै हुन्छन् तर किन्नेहरु भने २० देखि २५ जनासम्म मात्रै हुने उनको भनाइ छ। सुखावतीले नेपालमा भइराखेकै कुरालाई अलिकिति नौलो किसिमले मात्र पस्केको उनको भनाइ छ।

उनी थप्छन्, ‘हामी आपत पर्दा मात्र हिँड्छौँ। कतै बाढी, पहिरो आयो भने मात्र कपडा कलेक्सन गरेर दिनुपर्छ भन्ने हाम्रो मानसिकता छ।’

सुुखावतीले अरुले दिएको सामानहरु जोखेर रेकर्ड राख्छ। हालसम्म लगभग ४० हजार केजीजति सामान पुनः प्रयोग गरेको र त्यसबाट करिब ४०—४५ लाख जति आम्दानी गरिसकेको उनी बताउँछन्।

उनी भन्छन्, ‘यदि सुखावती स्टोर थिएन भने त मानिसहरुले उक्त सामानहरुलाई डम्पिङमा फालेर वातावरण दुषित बनाउँथे नि।’

गुरुङका अनुसार उनको समूहले वातावरण र क्लाइमेट चेन्ज (जलवायु परिवर्तन)लाई फोकस गरेर यो काम सुरु गरेको हो। तर मानिसहरुले आफूहरुले गरेको कामलाई राम्रोसँग बुझ्न नसकेको गुनासो छ उनको।

चिजमानलाई सुरुमा यो काम सुरु गर्छु भन्दा इष्टमित्र र साथीभाइहरुले हौसला दिने काम भने गरेनन्। उनी भन्छन्,‘सबै विदेश जान मन गर्छन्। यो चाहिँ के गरेर बसेको पुरानो कपडा बेचेर भन्ने गर्थे।’ उनले यस स्टोरबाट खर्च कटाएर आएको कमाइ मूलत: महिलाका क्षेत्र तथा अन्य क्षेत्रमा सामाजिक काममा खर्च गर्ने गर्छन्।

उनकी श्रीमती कोरियन हुन्। श्रीमतीबाट आफूले गरेको काममा राम्रो सहयोग रहेको उनी बताउँछन्।

आगामी योजना


उनको आगामी योजना बृहत् छ। नेपालमा सुखावतीजस्ता अन्य धेरै स्टोर हुनुपर्ने उनी बताउँछन्। पछिल्लो दिनमा सुखावती स्टोरमा पुरानो कपडामात्र नभई नेपाली ब्रान्ड, नेपाली महिलाहरुले बनाएको कपडालाई कसरी प्याकेजिङ गर्ने भन्ने प्लानिङ छ। सुखावतीले हालसालै नेपालटारमा पनि एउटा ब्रान्च खोलेको छ।

आगामी दिनमा नेपाली ब्राण्डलाई पनि मार्केटिङ गर्ने उनको योजना छ। नेपाली उत्पादनहरु सबैभन्दा पहिले नेपालमै खपत हुने गरी मूल्य तय गर्नुपर्ने उनको तर्क छ।

पुरानो सामान भन्ने बित्तिकै मान्छेहरुमा सकारात्मकभन्दा नकारात्मक कुराहरु बढी आउने चिजमान बताउँछन्। उनका अनुसार कतिपयले भने कपडा किनेर पुरानो हो भन्ने थाहा पाइसकेपछि पैसा छाडेरसमेत जाने गर्थे।

यो सबै कुराहरु वातावरण व्यवस्थापनका लागि हो भनेर मानिसहरुलाई बुझाउन अझै पनि चुनौती रहेको चिजमान बताउँछन्।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्