स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी आवश्यकः मन्त्री चौधरी

दाङ– लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले निजी क्षेत्रसँग सहकार्य गर्दै स्वस्थ्य क्षेत्रको विकास गर्ने योजना रहेको बताएका छन्।

दाङको लमहीमा फ्लोरेन्स हस्पिटल एण्ड ट्रमा केयर सेन्टरको उद्घाटन गर्दै मन्त्री चौधरीले स्वास्थ्य क्षेत्रमा सरकारी लगानीले मात्रै नपुग्ने भन्दै निजी क्षेत्रको पनि लगानी चाहिने बताएका हुन्।

‘निजी क्षेत्र र सरकारी क्षेत्र सँगसँगै हिड्नुपर्ने बेला भएको छ। सरकारले नीति बनाउने हो। सम्पूर्ण सेवा सरकारले दिन सक्दैन,’ उनले भने, ‘निजी क्षेत्र र सरकारी क्षेत्र सँगै मिलेर गएन भने यो ठाउँको विकास हुँदैन। स्वाथ्य क्षेत्रको विकासको लागि प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार छ।’

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले निजी क्षेत्रको स्रोतसाधनलाई परिचालन गरेर अघि बढ्नुपर्ने धारणा राखे।

‘स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार लगायतका क्षेत्रमा निजी क्षेत्रको लगानी र प्रतिस्पर्धा बढाउन चाहन्छौँ,’ उनले भने,‘यसका साथै सरकारी क्षेत्रको सेवालाई पनि प्रतिस्पर्धामा लैजान जरुरी छ। सरकारले समान नजरले दुवै क्षेत्रलाई हेर्नुपर्ने दायित्व रहन्छ।’

स्वास्थ्य क्षेत्र सेवामूलक भएकाले यस क्षेत्रमा लगानी बढाउँदै लग्नुपर्ने धारणा उनको छ। कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापती भेषराज पाण्डेले देउखुरी क्षेत्रमा उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

अस्पतालका प्रमुख डाक्टर पुष्प भुसालले शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको उपचारसमेत अस्पतालबाट थालिएको बताए। उनले हाडजोर्नी, मेरुदण्डदेखि हाइड्रोसिल, हर्नियासम्मको शल्यक्रिया गरिने बताए।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्