९९ जना नेपाली श्रमिक सरकारी कोटाबाट इजरायल प्रस्थान, मन्त्रीद्वारा बिदाइ

फाइल तस्बिर

काठमाडौं:–६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक सरकारी कोटाबाटै इजरायल प्रस्थान गरेका छन्। उनीहरु सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्।

छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएपछि नेपाली श्रमिक सरकारी कोटामै इजरायल जाने बाटो खुलेको हो। इजरायल जाने नेपालीले मासिक करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल जान लागेका श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गई बिदाइ गरेका छन्।

सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर समेत विमानस्थल पुगेका थिए। यसपछि १५ र १६ माघका दिन दुई उडान हुनेछ। वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मंसीरमा ६ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो।

पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरूलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्जत रहने गरी अनुशासित भई काम गर्न आग्रह गरे।मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास पनि व्यक्त गरे।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्