लिमीको चौरी स्रोत केन्द्रमा चौरीको संख्या दोब्बरले बृद्धि

सिमकोट– चौरीपालनमा बढी सम्भावना रहेको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीमा दुई वर्षमा चौरीको संख्या दोब्बर पुगेको छ।

लिमीका स्थानीयमा चौरीपालन व्यवसायप्रति आकर्षण घटिरहेका बेला स्थापना भएको चौरी स्रोत केन्द्रमा संख्या दोब्बरले बृद्धि भएको हो।
भेटनरी अस्पताल तथा पशु विकास कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले दुई वर्ष अगाडि स्थापना भएको लिमीको चौरी स्रोत केन्द्रमा संख्या दोब्बर पुगेको बताए।

सुरुमा ७० वटा चौरी खरिद गरेर स्रोत केन्द्र सञ्चालनमा आएकोमा अहिले त्यो संख्या १४२ मा पुगेको हो। आगामी जेठ–असारसम्म उक्त संख्या अझै बृद्धि हुने बुढथापाले बताए।

उनले सम्भावना भएकै कारण कार्यालयले लिमीमा स्रोत केन्द्र स्थापना गरेर व्यवसायिक चौरीपालन सुरु गरेको बताए। यसका लागि दुई वर्ष लगातार एक/एक करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको थियो। अझै सहयोग निरन्तर जारी रहने कार्यालयले जनाएको छ।

यसवर्ष पनि चौरीपालनकै लागि पचास लाख बजेटको व्यवस्था कार्यालयले गरेको र त्यसबाट पनि चौरीको संख्या पनि थपिने भएको छ। २०७६ सालमा चौरीपालनलाई फस्टाउनका लागि स्रोत केन्द्रको स्थापना गरिएको थियो।

चार जना चौरीदारले स्रोत केन्द्र हेर्दै आएका छन्। चौरीपालनबाट छुर्पी, घ्यूलगायतका दुग्धजन्य वस्तु बिक्री गरी स्रोत केन्द्रको आम्दानी सुरु भइसकेको छ।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्