पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई गृहमन्त्रीले सोधे- परीक्षा चलाउने कि बन्द गर्ने?

गृहमन्त्री बालकृष्ण खाँण। फाइल तस्बिर।

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयको बीएएलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिने कि केही समय स्थगन गर्ने भन्नेबारे गृहमन्त्री बालकृष्ण खाँणले टेलिफोनमै विद्यार्थीहरुसँगै परामर्श गरेका छन्।

विश्वविद्यालयले सञ्चालन गरिरहेको बीएएलएलबी चौथो वर्षको परीक्षामा बुधबार कोभिड संक्रमित र आम विद्यार्थीलाई एउटै कोठामा राखिएको भन्दै विद्यार्थीहरुले शान्तिपूर्ण धर्ना दिँदा प्रहरीले धरपकड गरेपछि विद्यार्थीहरु गृहमन्त्री खाँणलाई भेट्न मन्त्रालय पुगेका थिए।

विद्यार्थीहरुको माग सम्बोधन गर्ने क्रममा गृहमन्त्री खाँणले पहिलो‚ दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट अंक ल्याएकामध्ये प्राञ्जली कँडेल र अञ्जली तिवारीलाई टेलिफोन गरेर परीक्षा सञ्चालन गर्ने कि केही समय रोक्ने भनी सोधेका हुन्।

स्रोतका अनुसार उनीहरुले पनि केही समय परीक्षा स्थगन गर्न गृहमन्त्रीलाई सुझाव दिएका थिए।

यसपछि गृहमन्त्री खाँणले कोभिड भएका र नभएका सबै विद्यार्थीले स्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा दिने वातावरण निर्माण गर्न पहल गर्ने विद्यार्थीहरुलाई बताएका थिए।

माघ ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्