नेपालगञ्ज – के तपाईले खोप लगाउनु भयो? छैन भने लगाइहाल्नुस् है खोप। खोप लगाइसक्नुभएको छ भने खोप कार्ड त राख्नु भएकै होला ? खोप कार्ड छैन भने बनाइ हाल्नुहोस् र साथमा राख्नुहोस्। नत्र सार्वजनिक स्थलमा जान कारबाहीमा पर्नुहोला नि! सरकारले आजदेखि सार्वजनिक सेवा लिनमात्रै होइन सार्वजनिक स्थलमा हिँडडुल गर्न पनि खोप कार्ड अनिवार्य गरेको छ।

पुस ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ३६ बुँदे निर्देशन जारी भएको छ। त्यसलाई टेकेर जिल्ला प्रशासन कार्यालय बाँकेले पनि १९ बुँदे निर्देशन जारी गरेको छ। उक्त निर्देशनअनुसार माघ ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न र सेवा लिन तथा सार्वजनिक स्थलमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य छ।

निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले शुक्रबारदेखि सेवाग्राहीले अनिवार्य रुपमा खोप कार्ड बोकेर हिँड्नुपर्ने बताए। ‘सेवा लिन आउँदा सेवाग्राहीले खोप कार्ड देखाउनुपर्छ। मोबाइलमा खिचेको फोटो देखाए पनि हुन्छ’, उनले भने, ‘खोप कार्ड नदेखाउनेलाई प्रवेशद्वारबाटै फिर्ता पठाउँछौं।’

सेवा लिन खोप कार्ड अनिवार्य गर्दा सबैजना खोप लगाउन बाध्य हुने निमित्त प्रजिअ केसी बताउँछन्। खोप नलगाई बसेका व्यक्तिको संख्या पनि ठूलै छ। बाँकेमा पहिलो डोज ७९ प्रतिशतले र दोस्रो डोज ५४ प्रतिशतले लगाएका छन्। खोप लगाउने काम भइरहेको छ।

शुक्रबारदेखि अनिवार्य खोप कार्डदेखि मास्क नलगाएकालाई सेवा नदिननेमात्रै होइन कार्यालयहरुले सेनिटाइजर र साबुन पानीको व्यवस्था गर्नुपर्नेछ। विशेष गरेर भीडभाड हुने कार्यालयहरुलाई खोप कार्ड अनिवार्यबारे जानकारी दिन र स्वास्थ्य मापदण्डको पालना भए नभएको हेर्न निमित्त प्रमुख जिल्ला अधिकारी केसीको टोली विभिन्न कार्यालयमा पुगिरहेको छ।

बिहीबार मालपोत, नापी, यातायात कार्यालयमा पुगेको टोलीले निर्देशन जारी गरेअनुसारको व्यवस्था भएको पाएन। निमित्त प्रजिअ केसीले कार्यालयहरुमा जाँदा मास्क नलगाएका सेवाग्राही देखिएको, कार्यालयहरुले पनि सेनिटाइजर, साबुन पानीको उचित व्यवस्था नगरेको पाइएकाले सम्झाएको जानकारी दिए।

बाँकेमा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। भारतबाट आउने नेपाली र जिल्लामै पनि संक्रमित बढिरहेका छन्। स्वास्थ्य मापदण्डको पालना, खोपको व्यवस्था गर्न जरुरी देखिएको छ। पहिलो र दोस्रो चरणको जसरी अस्पताल भरिसकेको अवस्था छैन। कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका व्यक्ति घरघरमै देखिएका छन्।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्