मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न नागरिक अगुवाको माग

काठमाडौँ – रौतहटको सदरमुकाम गौरमा १५ वर्षअघि भएको हत्याकाण्ड दोहो¥याउने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई तत्काल पदमुक्त गर्न माग गरिएको छ।

मन्त्री यादवले बुधबार गौरमै भएको पार्टी समर्थित युवाहरुको एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउत र उनका कार्यकर्ताहरुलाई लक्षित गरी आवश्यक परे फेरि पनि गौर हत्याकाण्ड दोहो¥याउने धम्की दिएकी थिइन्।

तात्कालिन मधेसी जनअधिकार फोरमका नेता तथा कार्यकताहरुले माओवादीको कार्यक्रममा हस्तक्षेप गरी उनका २८ नेता तथा कार्यकर्ताहरुको हत्या गरेको थियो। उक्त घटनाको अहिलेसम्म गम्भीर छानबिन भएको छैन।

संघीय मन्त्री रहेको अवस्थामा पनि त्यस्तै प्रकृतिको अर्को हत्याकाण्ड दोहो¥याउने धम्की दिएकी जनता समाजवादी पार्टीकी नेतृ यादवलाई तत्काल पदमुक्त गर्न नागरिक अगुवाहरूले अपील गरेका हुन्। उनीहरुलाई मन्त्री यादवलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग गरेका छन्।

‘मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफै लिनु अति आवश्यक छ’, शुक्रबार जारी नागरिक अपीलमा भनिएको छ, ‘अतः हामी प्रधानमन्त्री देउवासमक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं।’

नागरिक अगुवाहरु डा केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले हस्ताक्षर गरेको नागरिक अपीलमा अगाडि भनिएको छ, ‘चर्चित ‘गौर हत्याकाण्ड’ २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो, जसमा २८ जना माओवादी समर्थक व्यक्तिहरुले अनाहकमा जीवन गुमाउनुपरेको थियो। बर्बर र पाशविक यस हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री रेणु यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको छ।’

मन्त्री यादवले माघ ५ गते आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएको तथ्यसमेत प्रमाणित हुने श्रव्य–दृश्य सामग्री सार्वजनिक भएको उल्लेख गर्दै नागरिक अगुवाहरुले मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रस्ट पार्ने, पुरानो अपराधसमेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनै पनि पदमा रहन अयोग्य भएको यसबाट स्वतः स्पष्ट हुने औंल्याएका छन्।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्