मन्त्री यादवको अभिव्यक्तिबारे एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

फाइल तस्बिर

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेको छ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्री यादवले नरसंहार मच्चाउने अभिव्यक्ति दिँदा पनि किन सत्ता गठबन्धनमा आबद्ध नेताहरु चुप भनेर प्रश्न गरेका छन्।

उपाध्यक्ष पोखरेलले भनेका छन्, ‘गठबन्धनकी एउटी नेतृ र वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्‍याउने उद्दण्ड हुंकार गरिन्, विगत गौर नरसंहारमा पीडित हुँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हूँ भन्ने केही बोल्छन्? बोल्दैनन्, गर्छन् गर्दैनन्? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन्?’

यस्तै एमालेकै उपमहासचिव प्रदीप ज्ञवालीले पनि अभिव्यक्तिको भत्साना गरेका छन्। उनले मन्त्रीको आपत्तिजनक अभिव्यत्ति आउँदा पनि प्रधानमन्त्री मौन रहनु बिडम्बनापूर्ण भएको बताएका छन्।

ज्ञवालीले भनेका छन्, ‘एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ‘गौर नरसंहार’गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक र बर्बरतापूर्ण छ। यति गम्भीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ। अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द होस्।’

मन्त्री यादवले बुधबार गौरमा भएको पार्टी समर्थित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउत र उनका कार्यकर्ताहरुलाई गौर हत्याकाण्ड दोहोर्‍याउने धम्की दिएकी थिइन्।

रौतहटको सदरमुकाम गौरमा १५ वर्षअघि तत्कालीन मधेसी जनअधिकार फोरमले माओवादीका २८ जना कार्यकर्ताको निर्ममता पूर्वक हत्या गरेका थिए। उक्त घटनाको अहिलेसम्म गम्भीर छानबिन भएको छैन।

मन्त्री यादवले राउतप्रति लक्षित गरेर गैर जिम्मेवार अभिव्यक्ति दिएपछि उनलाई पदमुक्त गर्न चौतर्फी दबाब परेको छ। नागरिक अगुवाहरुले समेत उनलाई पदबाट मुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्