बढी जनसम्पर्क हुने कार्यालयका कर्मचारी संक्रमित

कर्मचारीमा संक्रमण उच्च, कार्यालयमा अब आलोपालो प्रणाली लागू गरिने

काठमाडौंः–निजामति कर्मचारीहरुमा कोभीड १९ को संक्रमण बढेपछि सेवा प्रवाहमा असर परेको छ। जनसम्पर्कका कार्यालयहरु मध्ये अधिकांशमा कर्मचारी संक्रमण देखिएको हो।
८८ हजार निजामति कर्मचारी मध्ये देशको प्रशासनिक केन्द्र सिंहदरवारभित्र तथा बढी जनसम्पर्क हुने कार्यालयका कर्मचारी बढी संक्रमित भएको पाइएको छ। बढी भीडभाड हुने र नागरिकका प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका कार्यालयहरुका कर्मचारी कोरोनाबाट धेरै प्रभावित बनेका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी कार्यालयहरुमा अधिकांशमा ठूलै संख्यामा कर्मचारी संक्रमित बनेपछि आलोपालो प्रणाली सुरु गर्न लागेको बताए। उनले देशसञ्चारसँग भने ‘एक दुई दिनपछि मन्त्रालय आलोपालो प्रणाली लागू गर्ने सोचमा छ। यो विषयमा आइतबारतिर मन्त्रालयले निर्णय गर्नेछ।’ आफै संक्रमित रहेका प्रवक्ता अधिकारीका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै २० जना कर्मचारी संक्रमित भइसकेका छन्। मन्त्रालयले संक्रमित कर्मचारीको विवरण भने संकलन गरेको छैन।
सम्बन्धित कार्यालयका हाकिमलाई मात्रै संक्रमण भएको जानकारी दिने कारण धेरै कर्मचारीहरु संक्रमित भइरहेपनि मन्त्रालय वेखबर जस्तो बनेको प्रवक्ता अधिकारीले बताए। कोराना संक्रमित कर्मचारीहरुका लागि कार्यालयले १४ दिनसम्म विदा दिइएको छ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनबाट कर्मचारीहरु ठूलै संख्यामा संक्रमित भएपछि कार्यालयका सेवाहरु कटौती भएका छन्।सेवाग्राहीसँग भेटघाट र तथा कामकाज थाती राखेर कर्मचारीहरु कार्यालय मात्रै सञ्चालन गरिरहेका देखिन्छन्।
गृह मन्त्रालयका अनुसार देशका २१ वटा जिल्ला प्रशासन कार्यालयले सेवा कटौती गरेका हुन्।ती जिल्लाहरुमा अति आवश्यक बाहेकका सेवाहरु कटौती गरिएको छ। गृह मन्त्रालयमा पनि दर्जनौ व्यक्ति संक्रमित छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका ६७ जना कर्मचारीमध्ये १८ जनालाई कोरोना संक्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेलले जानकारी दिइन् । संक्रमण बढ्न थालेपछि सेवा कटौती गरिएको छ।
भक्तपुर जिल्ला प्रशासन कार्यालयका ५ जनालाई कोरोना संक्रमण देखिएको छ। ३० जना कर्मचारी रहेको कार्यालयका महत्वपूर्ण फाँटमा काम गर्ने कर्मचारीहरुलाई संक्रमण देखिएपछि सेवा प्रभावित भएको हो।
जिल्ला प्रशासन कार्यालय ललितपुरका ४ जनालाई संक्रमण देखिएको छ। निर्वाचन आयोगमा एक आयुक्त सहित ६ जना कर्मचारी संक्रमित छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ४० जनालाई संक्रमण देखिएको छ। मन्त्रिपरिषद् कार्यालयका ४० जना कर्मचारीमा संक्रमण देखिएको छ।
काठमाडौं महानगरपालिकाका ६० जना कर्मचारीलाई संक्रमण देखिएको छ। हाल महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।ललितपुर महानगरपालिकामा करीब एक सयजना संक्रमित भएको मेयर चिरिबाबु महर्जनले जानकारी दिए। महानगरका १३ वटा वडा कार्यालय संक्रमणका कारण बन्द गरिएका छन्। ‘धेरै कर्मचारीमा संक्रमण देखिएकाले आइतबारदेखि धेरै जनसम्पर्क हुने शाखाहरु र वडा कार्यालय नै बन्द गर्ने कि भन्ने सोच बनाएका छौ।’ उनले देशसञ्चारसँग भने। भक्तपुर नगरपालिकाका ३ जना कर्मचारीलाई संक्रमण देखिएको छ।

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्