प्रेस काउन्सिलले सिभिल अस्पतालाई सोध्यो- विश्वकर्माको उपचारमा किन लापरबाही?

काठमाडौँ- आर्थिक अभावका कारण ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको उपचारमा राजधानीको सिभिल अस्पतालले लापरबाही गरेको समाचार बाहिरिएपछि प्रेस काउन्सिलले शुक्रबार यसबारे सिभिल अस्पतालका अधिकारीसँग सोधपुछ गरेको छ।
शुक्रबार सिभिल अस्पताल पुगेर प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्बासे लगायतको टोलीले पत्रकार विश्वकर्माको मृत्युको घटनामा अस्पतालको लापरबाही देखिएकाले सत्यतथ्य के हो भन्ने विषयमा जानकारी माग गरेको हो।
काउन्सिलका अध्यक्ष बस्नेतले सिभिल अस्पतालका मेडिकल निर्देशक अनुज रायमाझीसँग हजार रुपैयाँ नपुगेर विश्वकर्माको ज्यान गएको सुनिएकाले सत्यतथ्य जानकारी गराउन माग गरेका थिए। उनले भनेका थिए- ‘पत्रकारको ज्यानै गइसक्दा पनि अस्पतालले केही कदम चालेको देखिएन, किन हो?’
अध्यक्ष बस्नेतले एक हजार रुपैयाँ नभएर उपचार गराउन नपाएपछि अर्को अस्पतालमा लैजाँदा लैजाँदै उनको मृत्यु भएको देखिएकाले यसबारे सत्यतथ्य जानकारी दिन रायमाझीसँग माग गरेका थिए। ‘विश्वकर्माले हजार रुपैयाँ भोलि दिन्छु भन्दा पनि किन उपचार नगरेको? सरकारी अस्पतालको यस्तो लापरबाही?’ बस्नेतले भनेका थिए।
सुरुमा थाहा छैन भनेर पन्छिए पनि काउन्सिल टोलीको निरन्तर दबाबपछि रायमाझीले आवश्यक परे छानबिन टोली गठन गरेर विस्तृत बुझ्ने जानकारी दिएका थिए।