नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ

महोत्तरी– नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँ प्रयोग गरेको आरोपमा आज महोत्तरीबाट दुई जना पक्राउ परेका छन्।

भारत बिहारको सितामाढी बस्ने ४० वर्षीय नुरुल होदा र सितामाढीकै सुरसण्ड–६ बस्ने ३९ वर्षीय उदय साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

दुवै जनालाई जिल्लाको फरक–फरक ठाउँबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मट्टीहानी प्रहरी चौकीबाट खटिएको प्रहरीले नुरुल होदालाई एउटै सिरियल नम्बर भएको दुई थान हजारको नोटसहित पक्राउ गरेको हो।

होजालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

त्यसैगरी उदय साहलाई भिट्ठामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ कालो झोलामा लुकाइ ल्याएको ९ लाख ९७ हजार र २ लाख ४० हजारको ४ वटा चेकसहित पक्राउ गरेको भिठ्ठामोड प्रहरी चौकीले जनाएको छ।

साहलाई तत्काल पक्राउ गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरीको भनाइ छ। –न्युज कारखाना

माघ ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्