अमेरिका र रुसका विदेशमन्त्रीबीच युक्रेनलाई लिएर ‘स्पष्ट’ वार्ता

युक्रेनलाई लिएर बढ्दै गएको तनाव कम गर्ने प्रयास स्वरुप अमेरिका र रुसका विदेशमन्त्रीबीच वार्ता भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच युक्रेनलाई लिएर भइरहेका तनाव थप बिस्तार नहोस् भनेर ‘फ्र्यांक’ (स्पष्ट) वार्ता भएको बताइएको छ ।

रुसले युक्रेनसँगको सीमा नजिक झण्डै एक लाखको हाराहारीमा आफ्ना सैनिक तैनाथ गरेको छ । रुसले युक्रेनमा सैन्य आक्रमणको तयारी गरेको अमेरिकी आरोप छ ।

तर रुसी विदेशमन्त्री लाभरोभले सीमामा सैनिक तैनाथ गरिनु युक्रेनमाथि आक्रमणका लागि नरहेको दाबी गरेका छन् । अमेरिकी विदेशमन्त्री ब्लिंकनले युक्रेनमाथि रुसले कुनै पनि प्रकारको सैन्य हमला गरेमा अमेरिकाले गम्भीर जवाफ दिने बताएका छन् ।

युक्रेनको पूर्वी क्षेत्रको ठूलो भाग रुस समर्थित बिद्रोही समूहको नियन्त्रणमा रहेको छ । विगत ८ वर्षदेखि सो क्षेत्र ती बिद्रोहीको नियन्त्रणमा रहेको हो । रुसले उनीहरुलाई सहयोग गर्दै आएको आरोप छ ।

पूर्वी युक्रेनमा ८ वर्षअघि भएको युद्धको क्रममा करिब १४ हजार मानिसको ज्यान गएको थियो भने कम्तीमा २० लाख मानिस बिस्थापित भएका थिए ।

अमेरिका र उसका सहयोगीहरुले रुसले युक्रेनमाथि सैन्य गतिविधि गरेमा नयाँ प्रतिबन्ध लागु गर्ने चेतावनी दिएका छन्।

अमेरिकाले आफ्नो धारणा कागजी रुपमा स्पष्ट गर्ने छ र अर्को हप्ता थप वार्ता हुने जनाइएको छ।

युक्रेनसँगको सीमा क्षेत्रमा झण्डै एक लाख सैनिक तैनाथ गरेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रसँग युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्न माग गरेका छन्।

माघ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्