दसगजा क्षेत्रमा एसएसबीको सुरक्षा पोस्ट, नेपाली पक्ष जानकारी लिँदै

मोरङ – भारतको सीमा सुरक्षा बल एसएसबीले विराटनगर महानगरपालिका १६ स्थित दरैयाबस्तीको दसगजा क्षेत्रमा सुरक्षा पोष्ट राखेको छ।
एसएसबीले करिब १ महिनाअघिबाट दरैया र भारतको जोगबनीस्थित टिकुलिया बस्तीबीच पर्ने दसगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको हो।

दशगजा क्षेत्रमा एकतर्फी सुरक्षा पोष्ट स्थापना भएपछि नेपालको तर्फबाट त्यसबारे जानकारी लिने काम भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। अन्तर्राष्ट्रिय मूल्य–मान्यताअनुसार दसगजा क्षेत्रमा कुनै पनि प्रकारको संरचना बनाउन पाइँदैन। प्रजिअ दाहालले सो क्षेत्रमा निर्माण भएको संरचना हटाउन कूटनीतिक पहल गरिने बताए।

भारतको अररिया डिस्ट्रिक्ट मेजिस्ट्रेटसँग यस विषयमा कुरा राखिने उनले जानकारी दिए। ‘भारतीय पक्षबाट समाधान नआए गृह मन्त्रालयमार्फत पहलका लागि कुरा अघि बढाउँछु’, प्रजिअ दाहालले भने, ‘यसअघि नेपालको सीमा सुरक्षा निकाय सशस्त्र प्रहरी बलसँग समन्वय गर्छु।’

दसगजा क्षेत्रमा निर्माण गरिएको पोष्टमा २४ घण्टा नै हतियारसहितका एसएसबीका सुरक्षाकर्मी बस्न थालेको वडा नम्बर १६ का अध्यक्ष मनोज सुब्बाले जानकारी दिए। खड्काका अनुसार त्यही पोष्टबाट एसएसबीले आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ।

अस्थायी संरचनाको रुपमा हाल काठ र कर्कटपाताको प्रयोग गर्दै एसएसबीले दसगजामा चेकजाँच गर्न थालेको छ। उनीहरुको चेकजाँचका क्रममा नेपाली नागरिक पीडित हुने गरेको बताउँदै सुब्बाले स्थानीयलाई धम्क्याउने हतियारसहित नेपाल भूमिमा पसेर गतिविधि गर्दै आएको स्थानीयको गुनासो छ। खुला सीमाको फाइदा उठाउँदै एसएसबीले आफूखुसी पोष्ट बनाएको वडाध्यक्ष सुब्बाको भनाइ छ।

माघ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्