फेरि सुनसान दाङका पर्यटकीय स्थल

दाङ – दैनिक चार–पाँच सय पर्यटक जखेरा ताल क्षेत्रमा आउँथे । डुंगा चढ्थे । वनभोज खान्थे । रमाउँथे । जसले गर्दा प्रफुल्लित थियो जखेरा ताल । तर, हिजो आज पर्यटक आउन छाडे । सुनसान बन्न थाल्यो ताल क्षेत्र ।

मुस्किलले दुई–चार आउँछन् । सुनसान ताल हेर्छन्, फर्किन्छन् । पर्यटकको चहलपहलले ताल छेउको होटल व्यवसाय पनि चलेकै थियो । अहिले त घाम तापेर दिन कटाउनु परेको व्यवसायीको भनाई छ ।

कोरोना भाइरसको संक्रमण पुनः तीव्र भएपछि दाङका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् । लामो समयपछि चलायमान हुन थालेको पर्यटनक्षेत्र कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि फेरि मारमा परेको हो ।

दैनिक जसो भिडभाड हुने लमही नगरपालिका वडा नं. ३ स्थित जखेरा तालमा पर्यटकहरु आउन छाडेका छन् । ताल क्षेत्रमा डुंगा चढ्न, वनभोज खान, हरियालीमा रमाउन पर्यटकको संख्या लगभग शून्य भएको जखेरा शिवालय धार्मिक पर्यटन संरक्षण विकास प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले बताए ।

‘कम्तीमा एक सयजनाले डुंगा चढ्नुहुन्थ्यो । वनभोज खाने दर्जन बढी समूह हुन्थे । दुई वर्षसम्म घुम्न नपाएकाहरु रमाउन खोज्दै थिए । फेरि कोरोनाले छेक्न थाल्यो’, उनले भने, ‘अब कहिलेसम्म यस्तै सन्नाटा हुने हो ।’

पर्यटकहरुको आगमन हुन थालेपछि ताल क्षेत्रलाई सिंगारिएको थियो । ताल क्षेत्र फराकिलो बनाइएको थियो । उद्यानहरु चिटिक्क पारिएको थियो । ‘यी सबै काम पर्यटकहरुलाई आकर्षित गर्न गरेका थियौँ । कोरोनाले रोक्न थाल्यो’ उनले भने, ‘पर्यटकलाई धेरै समय जखेरा तालमा बिताउन मिल्नेगरी ताललाई आकर्षक बनाएका छौँ ।’ पूर्वाधारहरु थपिएका छन् । सार्वजनिक शौचालय, खानेपानीको सुविधा छ । फोहोर व्यवस्थापन पनि राम्रो भएको छ ।

जखेरा जस्तै जिल्लाका नाम चलेका धार्मिक तथा पर्यटकीय स्थलमा पुग्ने पर्यटकको संख्या घटेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका पर्यटकहरु संक्रमण फैलने जोखिमका कारण भ्रमणमा निस्कन छाडेका हुन् ।

माघ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्