अझै अपडेट भएन मधेश सरकारको वेबसाइट

जनकपुरधाम– प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम भएको एक साता पुग्न लाग्दा पनि प्रदेश सरकारको वेबसाइट भने अझै अपडेट भएको छैन।

प्रदेश सरकारले हरेक वर्ष लाखौँ रुपैयाँ वेबसाइटको निर्माण तथा व्यवस्थापनमा खर्च गर्छ।

सोमबारको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम दुई तिहाइभन्दा बढी मतका साथ पारित गरेको थियो। नाम र राजधानी राजपत्रमा समेत प्रकाशित भइसकेको छ तर अधिकारिक वेबसाइटहरुमा भने संशोधन गरिएको छैन।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको वेबसाइट अहिलेसम्म संशोधन गरिएको छैन।

प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश नीति तथा योजना आयोगलगायतका प्रदेश सरकारका आधिकारिक वेबसाइटमा प्रदेश २ नै लेखिएको छ।

प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालयहरुका वेबसाइट भने अपडेट गरिएको छ।

माघ ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्