मन्त्री रेणु यादवलाई बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजको माग

मन्त्री रेणु यादव । फाइल तस्बिर

काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।

मन्त्री यादवले गएको बुधबार रौतहटको गौरमा भएको पार्टी समर्थित युवाहरुको कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउत र उनका कार्यकर्तालाई लक्षित गरी आवश्यक परे फेरि गौर हत्याकाण्ड दोर्होयाउने धम्की दिएकी थिइन् ।

मानव अधिकार तथा शान्ति समाजका तर्फबाट आइतबार सभापति गोविन्द खनालले वक्तव्य जारी गरेर मन्त्री यादवलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘मन्त्री रेणु यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा विपरित हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ। आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ।’

समाजले सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम् अशोभनिय गतिविधिको पनि निन्दा गरेको छ ।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्