राज्यले अनागरिक मानेकाको कथा ‘ढकियामे नागरिकता’, जसले देखायो सुन्दर जीवनको दर्दनाक अन्त्य

नाटकमा कलाकारहरु।

काठमाडौँ – टिम्किया गाउँका मंगला पण्डित, उनका पितापुर्खाको जीवनलिला यहिँ फुल्यो–झर्‍यो । माटोको भाँडा बनाउने पुर्ख्यौली पेशा । उनले पनि त्यही गरे। माटोका भाँडासहितको टोकरी बोकेरै उनकी श्रीमतीको तालुको कपाल खुइलिसकेको छ। उनीहरुले तालु खुइल्याएरै छोरी अनु र छोरा अर्जुनलाई पढाएका छन्। पण्डित दम्पती अरु कुरा खासै जान्दैनन्।

बा–आमाको दुःख देखेर हुर्केका अनु र अर्जुन पढाईमा लगनशील छन्। अनु स्नातक सक्काएर जागिर खान चाहन्छिन् । प्लस टु मा विशिष्ट श्रेणी ल्याएका अर्जुन छात्रवृत्तिमा डाक्टरी पढ्नलाई आवेदन दिन चाहन्छन्।

यी दुवैलाई आफ्नो लक्ष्यमा अगाडि बढ्न योग्यता र हौसलाको कमी छैन। इन्टर्नसिप गरिरहेकी अनुको काम गर्ने शैलीबाट जागिरदार प्रभावित छन्, अर्जुनको सर्टिफिकेट जसको हात लाग्छ, उसले पिठ्यूँमा धाप मारेर उज्ज्वल भविष्यको शुभकामना दिन छुटाउँदैनन्।

तर अगाडि बढ्ने उनीहरुको बाटो रोकिन्छ। अहिलेसम्म गाउँमा चिनजानको भरमा विद्यालय र कलेजको शिक्षा लिइरहेका यी दुई दिदीभाइलाई अगाडिको यात्राका लागि नागरिकता चाहिएको छ । सुरुमा नागरिकता चाहिन्छ जस्तो लागेन मंगला पण्डितलाई, बनाउन खोज्दा पहिचान प्रमाणिकरण र अज्ञानताका कारण पछिल्लो २० वर्षदेखि नागरिकता बनाउन सकेका छैनन् । जसको सजाय छोराछोरीले भोगिरहेका छन्।

‘ढकियामे नागरिकता’ नाटक मधेसका ती समुदायको कथा हो, जो नेपाली त हुन् तर उनीहरुसँग नेपाली हो भन्ने कागजी प्रमाणपत्र छैन। खुल्ला सिमाना नजिक बसेका यी सुमदायका मानिस सरकारको नियमको सिकार भएका छन्। नाटकमा पञ्जिकरण व्यवस्थामा नअटाएका मेधेसी समुदायलाई भारतीय नागरिक भएको आशंकामा आफ्नै देशबाट दिइने सेवा सुविधाबाट वञ्चित गराउँदा भोग्नु परेको पीडा देखाइएको छ।

यस्तै नाटकमा नागरिकको सेवाका खटिएका प्रतिनिधिहरु कार्यालयमा नभेटिने समस्या, नेतृत्वमा रहनको लागि नेताहरुले गर्दै आएको नागरिकतामाथिको ‘राजनीति’, नेतृत्वमा पुगेपछि भुसुक्कै नागरिक बिसर्ने नेताका प्रवृत्ति र भारतसँग भएको ‘रोटी–बेटी’ सम्बन्धको कारण पछि नागरिकता लिन हुने समस्या पनि देखाइएको छ। समस्या नेपाल भरीकै हो भन्ने देखाउनलाई नाटकमा आमाको नाममा नागरिकता लिन नपाएको युवाको संघर्ष पनि समेटिएको छ।

भारतबाट विवाह गरी आएकी महिला जसका श्रीमान बिते, छोरी जन्माएको भनेर उनलाई श्रीमानको घरबाट निकालिदिए। अंश मुद्दा गर्नका लागि उनीसँग नागरिकता छैन। त्यसैले उनी बिचल्लीमा छन्। नातामा यी महिला अनुकी काकी हुन्। घरबाट निकालेपछि उनी अनुको घरमा साहारा लिन पुगेकी छन्। सबैका सामु प्रश्न तेर्सिएको छ–‘काकीको नागरिकता बनेन भने भर्खरै काखे नानीको भविष्य के हुन्छ ?’

अनु चिनजानको भरमा एउटा एनजिओ (गैरसरकारी संस्था) मा इन्टर्नसिप गर्न जान्छिन्, त्यहीँ जागिरका लागि आवेदन खुल्छ। उनी हरेक तवरले उक्त पदका लागि योग्य हुँदाहुँदै पनि नागरिकताको अभावमा आवेदन दिनबाट वञ्चित रहन्छिन्।

यता, अनुका भाइ अर्जुन छात्रवृत्तिमा एमबिबिएस पढ्नका लागि आवेदन दिन चाहन्छन्। कागजपत्र बनाउन जहाँ–जहाँ उनी पुग्छन्, उनको सर्टिफिकेट हेरेर उसलाई धाप मारेर बधाई ‘डाक्टरसाप’ सम्म भनिन्छ। अर्जुनको स्कूल, क्याम्पसमा विद्यार्थीलाई उदहारण अर्जुनकै दिइन्छ। तर नागरिकता नहुँदा उनले छात्रवृत्तिमा पढ्नको लागि आवेदन नै भर्न पाउँदैनन्। उनलाई नागरिकता बनायन दिइएको २० दिनको समय यत्तिकै सक्किन्छ ।

ऐलानी जग्गामा बसेका मंगला पण्डित वडाले दिने जग्गाको आवेदनको लागि वडा कार्यालय जान्छन्। वडा अध्यक्ष भतिजाको बिहेमा गएको र ४–५ दिन नआउने जानकारी पिउनले दिन्छन्। पिउनले नै नागरिकतासहित नआए काम नबन्ने बताउँछन्।

त्यसपछि सुरु हुन्छ नागरिकता लिने सकस ।

नेतासम्म पुगेका मंगला पण्डितको मुखबाट ‘नागरिकता’ सुन्ने बित्तिकै नेताले  ‘हुन्छ–हुन्छ’ भनेर दलालको जिम्मा लगाउँछन्। दलालले पैसा माग्छ, लामो समय लाग्छ भनि झुलाउँछ। वडाबाट सिफारिस लिनजाँदा नयाँ सिडिओको जिम्मा लगाइदिन्छ र नयाँ सिडिओले नियम कानुनको पाठ पढाउँछ। सिडिओका अनुसार उनीहरुकाे नागरिकता बनाउन कानुन अनुसार मिल्दैन। नागरिकको पहिचान प्रष्टाउने कागजी प्रमाणको अभावमा मंगला र उनको परिवारलाई नागरिकता दिन नमिल्ने बताइन्छ।

नेपालको संविधान र ऐन कानुन अनुसार चार किसिमका नागरिकता रहेका छन्। वंशज, जन्मको आधार, अङ्गीकृत र सम्मानार्थ नागरिकता दिइन्छ । यी नागरिकताका प्रकार अनुसारका हक–अधिकार रहेका छन्। जन्मको आधार र अङ्गीकृत नागरिकताको प्रावधान संविधानमा भए पनि कार्यान्वयनका लागि कानुन बन्ने काम रोकिएको छ।

नागरिकता बनाउन हैरानी खेपेपछि छोराछोरीले बुवालाई प्रश्न गर्छन्, ‘यतिका वर्षसम्म किन नागरिकता बनाउनु भएन?’ मंगला पण्डितले त्यो समयमा आफूलाई नागरिकताको यतिका महत्व हुने थाहा नभएको बताउँछन्। खेतीपाति र आफ्नो दैनिकीमा मस्त यी समुदायले समय अनुसार जीवन चलाउनका लागि आवश्यक कागजपत्र कहिल्यै प्राथमिकतामा नराखेको नाटकमा प्रस्तुत गरिएको छ। मंगला पण्डितले पनि यही कारण नागरिकता पाउँदैनन्।

समय बित्दै जान्छ, अनुले जागिर पाउँदिनन् । अर्जुनको छात्रवृत्तिमा आवेदन दिने समय गुज्रिन्छ। त्यसपछि सुनौलो सपना देखेका अर्जुन निरासाको दहमा डुब्छन्। मधेसमा दाजुभाइको लामो आयुका लागि दिदीबहिनीले ‘सामा चखेवा’ मनाउँने गर्छन्। जीवनबाट हारेका अर्जुनले यही पर्वका दिन आत्महत्या गर्छन्। जीवनको अन्तिम क्षणमा उनले बुवाआमाको ख्याल राख्न दिदीलाई अनुरोध गर्छन्।

नागरिकताका मुद्दा पछिल्लो समय असाध्यै जटिल भइरहेको छ । नेपालमा धेरै अगाडिदेखि नै नागरिकताको विवाद टुंगिएको छैन। नागरिकता बनाउन रोकिनुका एउटा मात्र कारण छैनन्। कारण जुन सुकै भएपनि वर्षौँदेखि ‘मंगलाहरु’को नागरिकता बनेको छैन। यही विषयमा सरिता शाहको निर्देशनमा बनेको नाटक ‘ढिकियामे नागरिकता’ शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। निर्देशकले शाहले राज्यले आफ्नै नागरिकलाई नागरिकता दिने विषयमा किन भेदभाव गरिरहेको छ भनेर नाटक लेखेको बताएकी छन्।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्