हुम्ला अस्पतालका ८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिकबाहेक सबै सेवा बन्द

सिमकोट – हुम्लास्थित जिल्ला अस्पतालले आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ। एकैपटक अस्पतालका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो।

स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले आइतबारबाट लागू हुने गरी आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको बताए। आकस्मिकका बिरामी, प्रशूति सेवा, कोरोना परीक्षण र खोप लगाउने कार्य भने जारी रहने उनले जानकारी दिए।

जिल्लामा खोपको मौज्दात राम्रो रहेकाले खोप अभियानमा कुनै असर नपर्ने अस्पतालले जनाएको छ। अस्पतालबाटै संक्रमण फैलन सक्ने देखिएपछि सेवा बन्द गरिएको अस्पतालले स्पष्ट पारेको छ।

अस्पतालका ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको दिने २८ जनाको स्वाब परीक्षण गरिएको थियो। जसमा नौ जनामा कोरोना पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका सबै रानीवनस्थित आइसोलेसनमा रहेका छन्।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्