गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउने आशा पलायो, परीक्षण उडानको तयारी

बुटवल– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध विमानस्थल सात वर्षपछि सञ्चालनमा आउने आशा पलाएको छ। माघ ०७१ मा शिलान्यास भएर ०७४ पुसभित्र सम्पन्न भइसक्नुपर्ने विमानस्थल सात वर्षमा मात्रै निर्माण सम्पन्न हुन लागेको हो।

लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार मानिएको यो विमानस्थलमा एक महिनाभित्रै परीक्षण उडान गर्ने तयारी गरिएको छ। विमानस्थलको पूर्वाधार निर्माणको काम सकिए पनि विमानस्थलमा जडान भएका उपकरणको परीक्षण गर्नका लागि गरिने परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) एक वर्षदेखि अलमलमा छ।

क्यालिब्रेसन फ्लाइट अगाडि गर्नुपर्ने प्राविधिक चेकजाँचका लागि अमेरिका, अस्ट्रेलिया र थाइल्यान्डका प्राविधिक एकसाथ फिल्डमा हुनु आवश्यक रहेको र कोभिड १९ का कारण प्राविधिकहरु आउन नसकेपछि यो काम धकेलिँदै आएको छ।

क्यालिब्रेसन फ्लाइट गर्न प्राविधिक टोली केही दिनमा आउने जानकारी गराएको विमानस्थल परियोजना प्रमुख प्रवेश अधिकारीले बताए। ‘प्राविधिकहरु आउन नसक्दा यो काम एक वर्षदेखि रोकिएको छ,’ उनले भने, ‘केही दिनमै प्राविधिकहरु आउने कुरा छ, प्राविधिकहरु आएपछि परीक्षण उडान हुन्छ।’

परीक्षण र नियमित उडानका लागि अस्ट्रेलियन प्राविधिक आएर नेपाल नागरिक उड्डयन प्राधिकरणका १० जनालाई तालिम दिँदै छन्। जनवरी २४ मा थाइल्यान्डका प्राविधिक आउने र त्यसको केही दिनमा अमेरिकाबाट पनि प्राविधिक आइपुग्ने जानकारी आएकाले क्यालिब्रेसन फ्लाइट हुने उनले बताए।

पटक–पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाइ हुँदै आएको छ। जसका कारण परीक्षण उडानमा समेत ढिलाइ भएको छ। तर अहिले सबै उपकरणहरु जडान भइसकेकाले परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको अधिकारीले बताए।

मौसममा सुधार भएपछि विमानस्थलमा परीक्षण उडान गरिने र नेपाली नयाँ वर्ष वैशाखदेखि नियमित उडानको तयारी गरिएको छ। ६० मिटर चौडाई र ३ किलोमिटर धावन मार्ग, १९ सय मिटरको ट्याक्सी वे रहेको यो विमानस्थलमा ५ वटा वाइड बोडी जहाज पार्किङ गर्न सकिने छ। अहिलेको टर्मिनल भवन ४५ सय जना यात्रु क्षमताको रहेको छ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ।

नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाखमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। तर, समयमै निर्माण कार्य सम्पन्न नभएपछि आयोजनाले पटक–पटक गरेर सात पटक म्याद थप गरेको छ। ०७२ को भूकम्प र मधेस आन्दोलनका कारण काम गर्ने वातावरण तयार नहुँदा निर्माणको म्याद सरेको थियो।

त्यसैगरी, विमानस्थल निर्माण गर्ने क्रममा आवश्यक पर्ने नदीजन्य पदार्थ समयमै नपाउँदा पनि निर्माण कार्य प्रभावित भएको दाबी आयोजनाले गरेको थियो। लामो समय विमानस्थल निर्माण कम्पनी नर्थ साउथ र स्थानीय ठेकेदार कम्पनीबीचको आन्तरिक समस्याले पनि विमानस्थल निर्माणको काम प्रभावित भएको थियो।

विमानस्थल आइसिपी–१ र आइसिपी–२ गरी दुई चरणमा निर्माण भएको छ। आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल बिल्डिङलगायत संरचना निर्माण भएका छन्। आइसिपी–२ अन्तर्गत हवाईजहाज पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्राविधिक काम भएको छ।

६ अर्ब २२ करोडको लागतमा सुरु भएको विमानस्थलको बजेट आठ अर्ब ८२ करोड पुगेको छ। २२ सयभन्दा बढी घरधुरीलाई मुआब्जा दिइ जग्गा अधिग्रहण गरेर विमानस्थल परियोजना सुरु भएको थियो। विमानस्थल निर्माणका लागि करिब २३ अर्ब रकम मुआब्जा वितरण गरिएको थियो।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्